पोखरा । सातौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको ४ विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा बुधबार पत्रकार सम्मेलन गरेर वर्ष खेलाडी पुरूष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो ।
मनोनयनमा परेका मध्येबाट उत्कृष्टको घोषणा वैशाख २३ गते पोखरा सभागृहमा हुने कार्यक्रममा गरिने छ ।
अवार्डमा यस वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका करण केसी (बाग्लुङ), आर्चरीका गंगाबहादुर कुँवर (तनहुँ) र टेनिसका प्रदीप खड्का (कास्की) मनोनयनमा परेका छन् ।
वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजिना थापा मगर (बाग्लुङ), फुटबलकी सावित्रा भण्डारी (लमजुङ) र आइटीएफ तेक्वान्दोकी सुस्मिता थापामगर (बाग्लुङ) मनोनयनमा छन् ।
उदीयमान खेलाडी विधाको मनोनयनमा भलिबलका रवि केसी (बाग्लुङ) फुटबलका सुमित श्रेष्ठ (कास्की) र क्रिकेटका सुवास भण्डारी (बाग्लुङ) छन् ।
वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा आर्चरीका किशोरकुमार गुरुङ (स्याङ्जा), लनटेनिसका निरज थापा (कास्की) र आइटीएफ तेक्वान्दोका सुरज सुनार (कास्की) परेको मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । वर्ष खेलाडी पुरूष र महिलाको अवार्ड विजेताले इलेक्ट्रिक स्कुटर पाउने छन् । उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकले ३५ हजार रूपैयाँ र ट्रफी पाउने छन् ।
मञ्चले ७ विधामा अवार्ड वितरण गर्दै आइरहेको छ । लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ र पत्रकारिता अवार्डको घोषणा पछि गरिने महासचिव राजाराम पौडेलले जानकारी दिए ।
वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेतालाई ३५ हजार रुपैयाँको साथमा ट्रफी दिइने छ । लाइफटाइम अचिभमेन्ट अवार्ड विजेतालाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने पौडेलले जानकारी दिए । मञ्चले २०७२ सालदेखि पोखरा स्पोर्टस् अवार्ड गर्दै आएको छ ।





