पोखरा
गोरखाका चुनावी सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्थे, ‘सुरेन्द्रराज पाण्डेजी खालि प्रदेश सभाको सदस्य मात्रै होइन, उहाँ यहाँबाट जितेपछि गण्डकी प्रदेशको मुख्यमन्त्री बन्नुुहुन्छ ।’
मतदाता रिझाउन गाउँ गाउँमा प्रचण्डले दोहो¥याउने भाषणमा स्वर मिलाउँदै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि प्रचण्ड प्रधानमन्त्री र सुरेन्द्र मुख्यमन्त्री बन्ने भएकाले चुनाव जिताउन जनतासँग अनुरोध गर्थे ।
संघमा चुनाव लड्न चाहेका नेपाली कांग्रेसका पाण्डे प्रचण्डको आगमनसँगै मुख्यमन्त्रीको आश्वासनमा प्रदेशमा झरेका थिए । नेपाली कांग्रेसले पाण्डेलाई प्रतिनिधिसभाको चुनाव लड्न एकल सिफारिस गरेको थियो । प्रचण्डले चितवन छाडेर गोखरा उक्लिएपछि सुरेन्द्र प्रदेश झर्नुपरेको हो मुख्यमन्त्रीको ललिपपसहित ।
गठबन्धन गरेर होमिएका प्रचण्ड र पाण्डे दुवैले चुनाव जिते । तर, गण्डकी प्रदेशको मुख्यमन्त्री बन्न आफ्नै दलभित्र आन्तरिक संघर्ष जारी रहेको बेला सुरेन्द्रले चक्मा खाए । एकाएक सत्ता समिकरण बदलियो । प्रचण्डको बोलि फेरियो ।
नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पुनर्मिलन भयो । पुस १० गते बालकोटको बार्दलीबाट नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पुनर्मिलन भयो, जुन अपेक्षित थिएन ।
सत्ता समिकरण बदलिएपछि सुरेन्द्रले पोखरामा पत्रकार सम्मलेन गर्दै भनेका थिए, ‘यो घटना मेरा लागि अनपेक्षित थिएन । तर, पोखराबाट काठमाडौं आउँदा प्लेन त ल्याण्ड भयो तर राजनीति क्रयास भयो । म सकुशल अवतरण भएँ । तर, म आइपुग्दा राजनीति चाहिँ क्रयास भयो ।’
अनपेक्षित राजनीतिक कोर्स बदलिदा पुस २५ गते गण्डकीमा माओवादी र राप्रपाको समर्थन जुटाएर नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बने । प्रधानमन्त्री बन्ने बेलामा दाहाल र ओलीबीच झ्यांगिएको पिरती राष्ट्रपति निर्वाचनको संघारमा छुट्यो । प्रधानमन्त्री दाहालले फागुन १२ गते कांग्रेससहितका दलसँग नयाँ समीकरण बनाए ।
केन्द्रको बाछिटा प्रदेशमा नपर्ने भएन । चैत १० मा गण्डकीमा माओवादीले एमालेलाई दिएको समर्थन फिर्ता लियो । प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि बैशाख ९ गते खगराज अधिकारी नेतृत्वको सरकार ढल्यो ।
त्यसपछि सत्ता साझेदार माओवादी र नेपाली कांग्रेसबीच मुख्यमन्त्री बन्न संघर्ष निकै चल्यो । को पहिला मुख्यमन्त्री बन्नेमा कांग्रेस माओवादी टसमस भएनन् । गुहार माग्दै कांग्रेस र माओवादी संसदीय दलका नेता काठमाडौं (शक्ति) केन्द्र धाए ।
अन्तत गोरखा २ ‘ख’ बाट निर्वाचित सुरेन्द्रराज पाण्डे केन्द्रमा भएका शीर्ष नेताको सहमति बमोजिम गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका छन् । यसपालि काठमाडौंबाट पोखरा आउँदा सुरेन्द्र सवार प्लेन त सहजै ल्यान्ड भयो तर, सकसपूर्ण तरिकाले राजनीति ल्यान्ड भएपछि गण्डकी प्रदेशको चौथो मुख्यमन्त्री बनेका हुन् ।
बिहिबार दिउँसो पाण्डेले मुख्यमन्त्री बन्नलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष कांग्रेसका २७, माओवादी केन्द्रको ७ र स्वतन्त्र निर्वाचित भइ एकीकृत समाजवादी प्रवेश गरेका राजिव गुरुङ (दीपक मनाङे) सहित ३५ सांसदको समर्थन लिएर दाबि पेश गरे । उनी मुख्यमन्त्री नियुक्त भए । शुक्रबार सपथ ग्रहण गराउने प्रदेश प्रमुख कार्यालयको तयारी छ ।
पाण्डेले गोरखा २ ‘ख’ मा नेकपा एमालेका बसन्तकुमार गुरुङलाई भारी मतान्तरले पराजित गर्दै मुख्यमन्त्री बन्ने ढोका खोलेका थिए । पाण्डेले १६ हजार ८८७ मत प्राप्त गरेर निर्वाचित हुँदा निकटम् प्रतिस्पर्धी गुरुङले जम्मा ५ हजार ३७० मत पाए ।

गोरखा पालुङटार नगरपालिका– १ खोप्लाङका पाण्डे २०२१ भदौ ९ गते जन्मिएका हुन् । उनी स्कुले जीवनदेखि नै नेपाली कांग्रेस निकट विद्यार्थी राजनीतिमा सक्रिय थिए । २०३६ सालमा नेविसंघको सदस्यता लिएको वर्ष दिनमै उनी नेविसंघ अस्कल क्याम्पस इकाइको सचिव बन्न सफल भए ।
२०४५ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति बने । पाण्डे विद्यार्थी राजनीतिमा फड्को मारिरहे । २०४९ सालमा नेविसंघ केन्द्रीय सदस्यमा निर्वाचित भए । २०५९ सालमा तरूण दल महासचिव भए । हाल उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत हुन् । केन्द्रीय सदस्यमा उनको यो तेस्रो कार्यकाल हो ।
२०७४ सालमा २ बर्षे कार्यकालका लागि राष्ट्रियसभा सदस्य बनेका पाण्डे कांग्र्रेस संसदीय दलको नेता समेत बने ।
राजनीतिक संघर्षमा होमिएका पाण्डेले २०४५ र ०६१ सालमा झन्डै आठ महिना जेल जीवन बिताएका छन् । उनी पटक पटक लोकतान्त्रीक आन्दोलनमा होमिदा पक्राउ परे । त्रिभुवन विश्वबिद्यालबाट स्नातक गरेका पाण्डेको परिक्षाको घडी सुरु भएको छ । प्रदेशको औचित्यमाथि चौतर्फि आलोचना र प्रश्न उठिरहेको बेला आवश्यकता पुष्टि गर्न सक्छन्, सक्दैनन् समयले नतिजा पेश गर्नेछ ।
प्रकाशित मिति २०८० वैशाख १५ गते शुक्रबार १०:४१




