काठमाडौं
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले माओवादीका अयोग्य लडाकुलाई दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले देशको आर्थिक अवस्था भयावह भएको बेला सरकारले अयाेग्य लडाकुलाई दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय तत्काल खारेज गर्न माग गरेका हुन् । उनले राज्यकोष दोहन गरी अयोग्य लडाकुको नाममा कार्यकर्तालाई पोस्ने गरी पैसा दिने निर्णय आफ्नो पार्टीलाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । सरकारले त्यो निर्णय तत्काल खारेज नगरे आफ्नो पार्टी त्यसको विरुद्धमा जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने प्रमुख सचेतक गिरीको चेतावनी थियो ।
गिरीले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गराउन सरकार नलागेको आरोपसमेत लगाए । यस्तै प्रमुख सचेतक गिरीले झापामा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा सत्तापक्षकै मिलेमतोमा आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि ढुङ्गामुडा प्रहार गर्ने कोसिस गरिएको भन्दै निन्दा र भत्सर्ना गरे ।
प्रकाशित मिति २०८० वैशाख १५ गते शुक्रबार ०३:३९




