पोखरा । काँग्रेस दल नेता सुरेन्द्रराज पाण्डेलाई गण्डकीको मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका नेकपा एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद राजीव गुरूङ (दीपक मनाङ)ले मन्त्रीको दाबी छोडेका छैनन् । तर मुख्यमन्त्री पाण्डे उनलाई सरकारमा लैजान चाहँदैनन् ।
गण्डकीमा सात सदस्यीय मन्त्रिमण्डल छ । गण्डकीमा अब चार जना मन्त्री बन्ने छन् । काँग्रेसकी सरस्वती अर्याल तिवारी र माओवादी केन्द्रकी सुशीला सिम्खडा मन्त्री भइसकेका छन् ।
काँग्रेस आफूले पाँच वटा मन्त्रालय राखेर माओवादीलाई दुई मन्त्रालय दिन खोजिरहेको छ । त्यसो हुँदा मनाङ ‘ख’बाट सर्वसम्मत निर्वाचित मनाङे सरकारमा जान पाउँदैनन् । विवादित छवि र मनाङेकै कारणले सरकारमा कुनै असर नपर्ने भएकाले मुख्यमन्त्री पाण्डे उनलाई सरकारमा नलैजाने योजनामा छन् ।
गत वर्ष मंसिर १९ गते मनाङे नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर, उनी प्रवेश गरेको जानकारी पार्टीले संसद सचिवालयलाई दिएको छैन । त्यसैले संसदमा उनको हैसियत अझै दलविहीन छ ।
पब्लिक टेलिभिजनसँगको कुराकानीमा मनाङेले आफू गठबन्धनमै रहेको र सरकारमा जाने विषयमा छलफल भइरहेको बताए । सरकारमा जाने–नजाने विषय पोखरामा नभई केन्द्रमै छलफल हुने भएकाले मुख्यमन्त्रीको इच्छाले नहुने उनको भनाइ छ । सरकारले पूर्णता पाउने बेला आफू पनि मन्त्री हुने मनाङेको दाबी छ । उनले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय पाए काम गर्ने बताए ।
मनाङे यसअघिको प्रदेश सरकारको कार्यकालमा ४५ दिनमै तीनपटक युवा तथा खेलकुद मन्त्री बनिसकेका छन् ।
प्रकाशित मिति २०८० वैशाख १६ गते शनिबार ०४:५९




