२०८३ साउन २१ गते बिहीबार

दुई लाख दिने निर्णय लागू नभए प्रतिरोधमा उत्रन्छौं : माओवादी अयोग्य लडाकु

दुई लाख दिने निर्णय लागू नभए प्रतिरोधमा उत्रन्छौं : माओवादी अयोग्य लडाकु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १६ गते शनिबार ०५:२१

केपी शर्मा ओली प्रधानमन्त्री र विष्णु पौडेल अर्थमन्त्री भएका बेला नै २०७३–७४ को बजेटमा समेत २०६६ सालमा सातवटा शिविरबाट बिदाइ गरिएका ४ हजार ८ जना लडाकुलाई राहत दिने उल्लेख गरिएको थापाले बताए ।

काठमाडौं। माओवादी अयोग्य लडाकुका नेता राजन थापा (सुवास) ले आफूहरूलाई २ लाख दिने सरकारी निर्णयबारे नबुझिकनै संसदमा जुहारी चल्नु लज्जास्पद कुरा भएको बताएका छन् ।

शनिबार बहिर्गमित जनमुक्ति सेना नेपालद्धारा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सांसद एवं नेताहरुले तथ्य नै नबुझिकन माओवादी कार्यकर्तालाई पोस्न दुई लाख दिने निर्णय गरेको आरोप लगाएको गुनासो पोखे ।

उनले भने ‘अयोग्य लडाकुलाई दुई लाख दिने फैसला सम्मानित सर्वोच्च अदालतले गरेको हो । यसको यथार्थता नबुझिकन संसदमा जुहारी चल्नु लज्जास्पद कुरा हो । सांसद एवं नेताहरुले तथ्य नै नबुझिकन माओवादी कार्यकर्तालाई पोस्न दुई लाख दिने निर्णय गरेको आरोप लगाए ।’

केपी शर्मा ओली प्रधानमन्त्री र विष्णु पौडेल अर्थमन्त्री भएका बेला नै २०७३–७४ को बजेटमा समेत २०६६ सालमा सातवटा शिविरबाट बिदाइ गरिएका ४ हजार ८ जना लडाकुलाई राहत दिने उल्लेख गरिएको थापाले बताए ।

उनले भने, ‘शान्ति नचाहने तत्त्व अहिले यसको विरोधमा छ । के हामीलाई अयोग्य लडाकु घोषित गर्नु उचित थियो त ? हामीले बम र बारुद बोकेर ल्याएको व्यवस्थामा उहाँहरु भुँडी फुट्ने गरी खाने, हामीलाई पाखा लगाउने ?’

उनले नयाँ अर्थमन्त्री आएपछि , आर्थिक संकट आएपछि भएको निर्णय नभई लामो कानुनी लडाइँपछि कार्यान्वयन हुन लागेको विषय भएकाले यसमा राजनीतिकरण गर्नु गलत भएको बताए । दुई लाख दिने निर्णय कार्यान्वयन नभए पूर्व जनमुक्ति सेना यसको प्रतिरोधमा उत्रने चेतावनी पनि उनले दिए ।

प्रकाशित मिति २०८० वैशाख १६ गते शनिबार ०५:२१
हजुरको प्रतिक्रिया