पोखरा
प्रत्येक शनिबार साहित्यिक गतिविधि भइरहने पोखरामा आज पनि विभिन्न साहित्यिक अभियानदेखि गजल वाचनसम्मका कार्यक्रम भएका छन् । महिनाको तेस्रो शनिबार पोखरामा गजल सन्ध्या पोखरा र नवनीति साहित्य सागरको अक्षरयात्रा साहित्यिक अभियान, नेपाली लेखक संघको रचना वाचन र लेकसाइड मदिरा व्यवसायी समितिले गजल वाचन कार्यक्रम रहेको हो ।
गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागर पोखराले प्रत्येक महिनाको तेस्रो शनिबार हुँदै आएको साहित्यिक अभियान अक्षरयात्रा अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलय घारीपाटनमा गरेको छ । अक्षरयात्राको १ सय ५८ औं अक्षरयात्रामा कविहरुले तद्स्थानीय सिर्जनामा देशको व्यवस्था, जनताको अवस्था, मायाप्रेम तथा समसामयिक विषयलाई पस्किएका छन् ।
‘जीवन र जगतको पथार्थवोधका लागि अक्षरयात्रा’ नाम दिएर हुँदै आएको यो अभियानले साहित्यिक पर्यटनको अवधारणालाईसमेत आत्मसात गर्दै देशका विभिन्न ठाउँमा कार्यक्रम गर्दै आएको अध्यक्ष वसन्त विनोदले जानकारी दिए ।
नेपाली लेखक संघ कास्की र गण्डकी शाखाले आफ्नो स्थापना दिवसको अवसरमा रचना वाचन कार्यक्रम गरेको गण्डकीका महासचिव सञ्जीव पौडेलले जानकारी दिए । ‘प्रथम राष्ट्रिय लेखक दिवस’ रचना वाचन गरी मनाइएको हो ।
लेकसाइड मदिरा व्यवसायी समितिले गजल वाचन तथा गायन कार्यक्रम गरेको छ । समितिले साहित्यलाई व्यवसायसँग पनि जोडेर पोखराको काव्यिक परिचयलाई फराकिलो बनाउने गरी गजल वाचन तथा गायन कार्यक्रम राखिएको अध्यक्ष रोशन देवकोटाले बताए ।
समितिले संगीतकार नवराज बराललाई गायनका लागि मञ्चमा उतारेको हो भने जिल्ला समन्वय अधिकारीसमेत रहेका नवराज बराल ‘निशान्त’, ध्रुव बराल र अमृता पोखरेल गजल वाचन कार्यक्रम गरेको छ ।
४ गजलकारले ५/५ वटा गजल गायन तथा वाचन गरेका थिए । कार्यक्रमकै अवसरमा समितिले भित्तेपात्रो विमोचनसमेत गरेको अध्यक्ष देवकोटाले जानकारी दिए ।
प्रकाशित मिति २०८० वैशाख १६ गते शनिबार ०८:५६




