पोखरा
पोखरा स्पोर्ट्स अवार्डको लाइफ टाइम अचिभमेन्ट अवार्ड बक्सिङका बरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले ३५ वर्ष प्रशिक्षक भएका मर्सानीलाई अवार्ड प्रदान गर्ने भएको हो ।
उनले अवार्डसँगै चाँदीको करुवा, ट्रफी र प्रमाणपत्र पाउनेछन् । बैशाख २३ गते पोखरामा अवार्ड वितरण गरिनेछ ।
तनहुँ बन्दीपुरका मर्सानीले १५ वर्षको उमेरदेखि बक्सिङ खेल्न थालेका हुन् । त्यतिबेला उनले ननलिस्टिङ प्रतियोगिता एनसीसीबाट खेले ।
२०३७ सालमा भैरहवामा बक्सिङकै पहिलो राष्ट्रिय प्रतियोगिता भएको थियो । त्यहाँ उनी गण्डकी अञ्चलबाट उनी सहभागी भए । मर्सानीले पहिलो सहभागितामै काँस्य पदक हात पारे । २०३८ सालमा काठमाण्डौमा वृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाए । वीरगञ्जमा भएको सातौं राष्ट्रिय बक्सिङ प्रतियोगितामा रजत पदक जिते । २०४१ मा भएको नवौं बक्सिङ प्रतियोगितामा उनले स्वर्ण पदक नै प्राप्त गरे ।
मर्सानीको प्रशिक्षणको यात्रा २०४२ सालदेखि सुरु भएको हो । सहायक प्रशिक्षकका रुपमा खेलकुद विकास समितिमा प्रवेश गरे । दुई वर्ष भारत पढेर फर्किसकेपछि पूर्ण प्रशिक्षकका रुपमा नेपाली राष्ट्रिय बक्सिङ टीमको नेतृत्व गरें । बक्सिङ खेलको प्रशिक्षकको रुपमा ३५ वर्ष जागिरे भएर ३ वर्षअगाडि अवकाश पाएका हुन् ।
उनको प्रशिक्षणमा आठौं राष्ट्रिय खेलकुदमा १० पदकमा ९ पदक जित्न सफल भए । २ स्वर्ण, ५ रजत र २ काँस्य प्राप्त भएको थियो । त्यसपछि, नवौं सागमा प्रशिक्षक भई इस्लामावाद पुगेर फर्किए ।
२०५७ मा यू–१९ साफ गेम खेलाउँदा उत्कृष्ट प्रदर्शन पश्चात् शिक्षा पुरस्कारबाट पुरस्कृत भए । मर्सानी अमेरिका, कोरिया, जापान, थाइल्याण्ड, सिंगापुर, इन्डोनेसिया, मलेसिया, श्रीलंका, भारत, पाकिस्तान पुगेका छन् ।
सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्डसँगै उत्कृष्ट वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिनेछ ।
वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन् ।
वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् ।
प्रकाशित मिति २०८० वैशाख १८ गते सोमबार ०७:५८




