पोखरा
नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जसरी पनि सरकारमा सहभागी गराउने रणनीतिमा लागेका छन् । स्रोतका अनुसार प्रतिपक्ष घटाउने र संसदको ठूलो दल नेपाली कांग्रेसलाई पनि सन्तुलन राख्न प्रचण्डले रास्वपालाई सरकारमा सहभागी गराउन चाहेका हुन् । संसदको दोस्रो ठूलो एमाले र चौथो दल रास्वपा प्रतिपक्षमा रहँदा सरकारको काम कारबाहीमा अड्चन आउन सक्ने बुझाइ पनि प्रचण्डको रहेको स्रोतको दाबी छ ।
तर, रास्वपाले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायम राख्ने कि फिर्ता लिने भनेर निर्णय गरेको छैन । सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा सरकारमा जाने र समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने विषयमा पार्टीभित्र दुई धार देखिएको छ । केन्द्रीय समिति बैठकमा सरकारमै फर्किने कि प्रतिपक्षमा बस्ने भन्ने विषयमा नेताहरुले दुई खाले मत अघि सारेका हुन् । सभापति रवि सरकार जान लचिलो देखिएका छन् भने केही नेताहरु सरकारमा जान नहुने अडानमा देखिएका छन् । हिजो बैठकमा सरकारमा जाने विषयमा दूर्य धारदेखिएपछि आगामी शुक्रबार बस्ने केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारमा जाने बारे निर्णय गर्नेछ ।
गठबन्धनका एक नेताका अनुसार गत पुस १० को सहमति अनुसार नै रास्वपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्ड लचक देखिएका हुन् । सहमति अनुसार पुस ११ गते एमाले नेतृत्वको सात दलीय गठबन्धनबाट उपप्रधान तथा गृहमन्त्री बनेर प्रचण्ड नेतृत्वको सरकारमा लामिछाने गएका थिए । तर नागरिकता प्रकरणका कारण उनले माघ १३ गते सांसद पद गुमाएपछि माघ २२ मा रास्वपाले सरकार छाडेको थियो ।
२१ सांसद रहेको रास्वपाले सरकारलार्ई दिएको समर्थन फिर्ता लिएपनि खासै अर्थ नराख्ने भएपनि कांग्रेसलाई सन्तुलनमा राख्न पनि रास्वपाको साथ उपयुक्त विकल्प हुन माओवादी केन्द्रका नेताहरू बताउँदै आएका छन् । रास्वपाले सरकारको न्यूनतम साझा कार्यक्रमप्रति विमति राखेको छ भने पूर्व सर्त अनुसार गृह मन्त्रालय पाउनु पर्ने उसको अडान कायमै छ । पुस १० गतेको सहमति अनुसार रास्वपालाई सरकारमा सहभागी गराउँदा रविलाई गृहमन्त्री बनाउनु पर्नेछ । सरकार पुनर्गठनका बेला माओवादीका नारायणकाजी श्रेष्ठ गृहमन्त्री बनिसकेका छन् । तर, रास्वपाका माग पूरा गराएर सरकारमा ल्याउने प्रचण्डको रणनीति रहेको माओवादीका नेताहरुको भनाइ छ ।
प्रकाशित मिति २०८० वैशाख १९ गते मंगलबार ०८:५२




