पोखरा
पत्रकारका लागि पोखरामा आयोजना गरिएको दन्त परीक्षण शिविरमा १ सय ३० जना सञ्चारकर्मीले सेवा लिएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ कास्की र नेलम्बो नेपालको आयोजनामा दन्त शिविर आयोजना गरिएको हो ।
शिविरमा १४ जनाको दाँतको एक्सरे, २७ जनाको दाँत सफा, ४३ जनाको दाँत भर्ने, ३ जनाको दाँतको जरैदेखि उपचार र एक जनाले दाँत निकाल्ने सेवा लिएका छन् । पहिलो दिन नाम दर्ता गरेर परीक्षण गरेकाहरुलाई आज पनि अन्य उपचार सेवा प्रदान गरिने पत्रकार महासंघ कास्की शाखाका सचिव माधव बरालले जानकारी दिए ।
दन्त शिविर उद्घाटन कार्यक्रममा पत्रकार महासंघ कास्की पूर्व अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी पुण्य पौडेलले दन्त उपचार सेवाबाट सञ्चारकर्मीहरुले प्रत्यक्ष लाभ लिएको र स्वास्थ्यप्रति सचेत पनि गराएको बताए । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति गंगाधर पराजुलीले जनतालाई सुसूचित गर्न दिनरात नभनी खटिने सञ्चारकर्मीले आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्ने बताए । सञ्चारकर्मीहरुको दाँत र मुख स्वास्थ्यलाई मध्यनजर गरेर शिविर सञ्चालन गरिएको महासंघका अध्यक्ष विमला भण्डारीले बताइन् ।

नेलम्बो नेपालका कार्यकारी अध्यक्ष एकदेव देवकोटाले पत्रकार महासंघसँग मिलेर काम गर्दा खुशी लागेको भन्दै मुख स्वास्थ्यका बारेमा दुरदराजका नागरिकहरुलाई सही सूचना र सन्देश सम्प्रेशण गर्ने दायित्व सञ्चारकर्मीको रहेको बताए । शिविरमा उपचार सेवा लिएकालाई आवश्यकताका आधारमा निशुल्क औषधी वितरण गरिएको पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष एवं दन्त शिविर कार्यक्रमका संयोजक कृष्ण दवाडीले बताए ।
शिविरमा दन्त चिकित्सक डाक्टर सिजन मसार्नी, दन्त चिकित्सा सहायक करुणा गर्बुजा, अञ्जु विक, नेलम्बो कार्यक्रम संयोजक भीमप्रसाद भण्डारी, किल्निकल सहयोगी रितिक चुवाई, फिल्ड एडमिन सहयोगी नम्रता ढुंगाना, प्राविधिक सुपरभाइजर रुपेश गुरुङ र मुक्तबहादुर हमालले प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।
दन्त शिविरमा उपचार लिएका सेवाग्राहीहरुलाई आवश्यकताका आधारमा पूनः उपचार तथा फलोअपको पनि व्यवस्था मिलाइएको नेलम्बोका कार्यक्रम संयोजक भण्डारीले जानकारी दिए ।
प्रकाशित मिति २०८० वैशाख २१ गते बिहीबार ०९:०२




