पोखरा
आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६७ औं बुद्ध जयन्ती । विविध कार्यक्रम गरी आज भगवान् बुद्धप्रति आस्था प्रकट गरिँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महा परिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यो दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रूपमा मनाउने गर्छन् । नेपालको लुम्बिनीमा २५६६ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो ।
राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा जन्मिएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व प्राप्ति भएपछि सिद्धार्थले भगवान् बुद्धका रूपमा प्रसिद्धि पाए ।
पोखरामा २५६७ औं बुद्ध जयन्तीको अवसरमा सप्ताहव्यापी कार्यत्रम भएका छन् । बुद्ध जयन्ती समारोह कास्कीको आयोजनामा वैशाख १५ देखि आजसम्म सो कार्यक्रम मनाइँदैेछ । साइकल रयाली, निशुल्क स्वास्थ्य शिविर, भोजन दान, सरसफाइ र वृक्षारोपण कार्यक्रम, प्रभातफेरीसँगै बुद्धधर्मसँग सम्बन्धित पुजापाठ गरिएको बुद्ध जयन्ती समारोह कास्कीका अध्यक्ष क्याप्टेन चन्द्रप्रसाद गुरुङले बताए ।
बुद्धले प्राणी जगतका लागि बाँडेको शिक्षालाई जनस्तरसम्म पु¥याउन प्रयत्न गरेको उनको भनाइ छ । नेपालीले धर्मलाई स्वतन्त्रताको रुपमा लिँदा परम्परागत धर्म छाडेर पश्चिमा धर्ममा आकर्षित भएको उनको गुनासो छ । बुद्ध जयन्ती समारोह कास्कीका संस्थापक सचिव विश्व शाक्यका अनुसार पोखरामा विक्रम संवत् २०१० सालदेखि वुद्ध जयन्ती मनाउन सुरुवात गरिएको थियो । ६० को दशकपछि भने सामूहिक रुपमा मनाउने गरिन्छ । बौद्ध धर्मावलम्बी युवाहरुको सहभागिता धार्मिक कार्यक्रममा नरहेकाले उनीहरुलाई जागृत गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिएका छन् ।
प्रकाशित मिति २०८० वैशाख २२ गते शुक्रबार ०८:२५




