पोखरा
दक्षिण एसियामै पहिलो पटक पोखरामा नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा असार ८ र ९ गते पोखरामा पहिलो पटक नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुने भएको हो ।
फेस्टिभल आयोजना गर्न नेपाल पर्यटन बोर्ड र चिनियाँ दुतावासका अधिकारीबीच सम्झौता भएको छ । दुई देशबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधुर बनाउने र नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको आयोजक नेपाल पर्यटन बोर्डले जनाएको छ ।
यस प्रकारको बोट रेस फेस्टिभल दक्षिण एसियामै पहिलो पटक आयोजना हुन लागेको हो । रेसका लागि चीनबाटै ८ वटा विशेष खालका बोट सहित अन्य सहभागीहरू नेपाल आउनेछन् । फेस्टिभलमा नेपालका सात वटै प्रदेशबाट सहभागिता रहनेछ ।
यस कार्यक्रमले नेपालकै समग्र पर्यटनमा नयाँ आयाम थप्ने पोखरा महानगरपालिकाका प्रमुख आचार्यले विश्वास व्यक्त गरे । पोखराको पर्यटनमा नयाँ प्रडक्ट थपिने र यसलाई हरेक वर्ष आयोजना गरिने उनको भनाइ थियो ।
फेस्टिभलपछि महंगो मूल्यका ८ थान डुंगाहरू चिनियाँ पक्षकोतर्फबाट पोखरा महानगरलाई हस्तान्तरण गरिने छ । बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले बोट रेस फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताए ।
चिनियाँ दूतावासका डीसीएम वाङ जिनले पोखरा चिनियाँ पर्यटकको लागि आकर्षक गन्तव्य भएको उल्लेख गरे । उक्त अवसरमा फुड फेस्टिभल समेत आयोजना गरिनेछ ।
प्रकाशित मिति २०८० वैशाख २२ गते शुक्रबार ०५:४५




