२०८३ साउन २१ गते बिहीबार

पोखरा स्पोर्टस् अवार्ड आज

पोखरा स्पोर्टस् अवार्ड आज

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २३ गते शनिबार ०८:४०

गण्डकीको खेलकुदको विकासमा टेवा पुरयाउने उद्देश्यले २०७२ सालदेखि मञ्चले अवार्ड कार्यक्रम गर्दै आएको छ ।

पब्लिक फाेरके टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने

पोखरा

सातौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड कार्यक्रम आज पोखरामा हुँदैछ । पोखरा सभागृहमा आज दिउँसो ३ बजे हुने अवार्डको सबै तयारी पूरा भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएकाे छ । कार्यक्रमकाे पब्लिक फाेरके टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।

पोखरा स्पोर्टस् अवार्डमा विभिन्न ७ विधामा अवार्ड वितरण गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । कार्यक्रममा वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड सहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब विधामा अवार्ड प्रदान गरिनेछ ।

अवार्डमा यस वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका करण केसी (बाग्लुङ), आर्चरीका गंगाबहादुर कुँवर (तनहुँ) र टेनिसका प्रदीप खड्का (कास्की) मनोनयनमा परेका छन् । वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजिना थापा मगर (बाग्लुङ), फुटबलकी सावित्रा भण्डारी (लमजुङ) र आइटीएफ तेक्वान्दोकी सुस्मिता थापामगर (बागलुङ) मनोनयनमा छन् । उदीयमान खेलाडी विधाको मनोनयनमा भलिबलका रवि केसी (बागलुङ) फुटबलका सुमित श्रेष्ठ (कास्की) र क्रिकेटका सुवास भण्डारी (बागलुङ) छन् । वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा आर्चरीका किशोरकुमार गुरुङ (स्याङ्जा), लनटेनिसका निरज थापा (कास्की) र आइटीएफ तेक्वान्दोका सुरज सुनार (कास्की) परेको अध्यक्ष बरालले जानकारी दिए ।

वर्ष खेलाडी पुरूष र महिलाको अवार्ड विजेताले इलेक्ट्रिक स्कुटर पाउने छन् । उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकले ३५ हजार रूपैयाँ र ट्रफी पाउने छन् । यसैगरी लाइफ टाइम अचिभमेन्ट अवार्डबाट बक्सिङका वरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई सम्मान गरिने भएको छ । त्यसैगरी उत्कृष्ट संघ संस्था वा क्लबबाट कास्की जिल्ला ह्यान्ड बल संघलाई सम्मान गरिने महासचिव राजाराम पौडेलले जानकारी दिए ।

यस वर्षको उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई प्रदान गरिने भएको छ । अवार्ड अन्तर्गत गठन भएको पत्रकार छनोट समितिको सिफारिसलाई मञ्चको कार्यसमितिको २५ औं बैठकले अनुमोदन गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जनाए ।

वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेतालाई ३५ हजार रुपैयाँको साथमा ट्रफी दिइने छ । पोखरामा आयोजना भएको नवौं राष्ट्रिय प्रतियोगिताका क्रममा निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापालाई कीर्तिशेष सम्मान गरिने अध्यक्ष बरालले जानकारी दिए । गण्डकीको खेलकुदको विकासमा टेवा पुरयाउने उद्देश्यले २०७२ सालदेखि मञ्चले अवार्ड कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति २०८० वैशाख २३ गते शनिबार ०८:४०
हजुरको प्रतिक्रिया