२०८३ साउन २१ गते बिहीबार

गीतकार खरेललाई पोखरामा ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’

गीतकार खरेललाई पोखरामा ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’

विकास रोकामगर

@Public 4K Tv

२०८० वैशाख २३ गते शनिबार ०२:२८

पोखरेली युवा सांस्कृतिक परिवारले उनै खरेललाई शनिबार पोखरामा २ लाख रुपैयाँको अम्बर गुरुङ पुरस्कार समर्पण गरेको छ । उनी उक्त पुरस्कार ग्रहण गर्ने पहिलो गीतकार बनेका छन् ।

पोखरा

करिब २० को दशकमा बनेको नेपाली फिल्म माइतीघरको मुख्य गीत ‘वसन्त नै बस्न खोज्छ’ गीत नसुनेका सायदै नेपाली होलान् । गीत लेखिएको ६ दशक पुगिसक्दा पनि स्रोत घटेका छैनन्, झन्झन् बढ्दैछन् ।

वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठ चर्चित नेपाली फिल्म माइतीघरको शीर्ष गीत ‘माइतीघर’ गीतबारे चर्चा गर्छन्, ‘यो गीतमा मेरा आमाभन्दा अगाडिको पुस्ता पनि नाच्यो, मेरो पुस्ता पनि नाच्यो, नाति पुस्ता पनि नाच्छ । एउटै गीतले यत्रो ठूलो व्यापकता पाएको सायदै कुनै उदाहरण हुन सक्छ ।’ माइतीघरको शीर्ष गीतका गीतकार हुन्, किरण खरेल । विसं २०२२ मा माइतीघरका लागि खरेलले पहिलो पटक नेपाली फिल्मका लागि गीत लेखेका थिए । त्यसयता उनले सयभन्दा बढी नेपाली फिल्मका लागि गीति अक्षर कुँदेका छन् । कुनै समय नेपाली फिल्ममा गीतमा उनको एकछत्र राजजस्तै थियो ।

उमेरको ८५ औं अंक रेखामा दौडिरहेका खरेल माइतीघर अगाडि नै गीतकारका रुपमा नेपाली आधुनिक संगीत क्षेत्रमा पर्दापर्ण गरिसकेका थिए । गीत रेकर्ड गर्न पनि भारतको कलकत्ता पुग्नुपर्ने समयमै विसं. २०१४ सालमा एउटा गीत चर्चाको शीखरमा पुगिसकेको थियो, ‘ए दूरका सितारा …।’ वरिष्ठ साहित्यकार श्रेष्ठ परम्परावादी गीति लेखनको पुरानो ढर्रा भत्काएर त्यही गीतबाटै नेपाली आधुनिक गीतको युग सुरु भएको दाबी गर्छन् । ‘ए दूरका सितारा…’ नेपाली आधुनिक गीतको प्रस्थानविन्दु त्यही थियो । त्यो गीतले यति चर्चा पायो कि राजा महेन्द्र पनि मन्त्रमुग्ध भए,’ उनी भन्छन् ।

१९ वर्षे ठिटोले लेखेको उक्त गीत चर्चामा आएपछि खरेलले पछि फर्केर हेर्नुपरेन । सफलताको सिँढी चढ्दै जाँदा पनि उनले आफ्नो साधनामा कमी ल्याएनन् । जीवनको ६ दशकभन्दा बढी समय गीत लेखनमै सक्रिय रुपमा बिताए, ७ सयभन्दा बढी गीतमात्रै लेखे । ‘सायद धेरै संगीतकारहरुलाई, गायकहरुलाई किरण दाइका गीतहरुमा छन्द खोजिरहनुपरेन । पहिल्यै छन्द देखाप¥यो,’ साहित्यकार श्रेष्ठ भन्छन्, ‘उहाँका गीत नगाउने सम्भवतः अघिल्लो पुस्ताका कुनै गायक भएनन् ।’ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त पनि नेपाली गीति परम्पाराई आधुनिक धारमा ल्याउने निर्विकल्प शीर्ष व्यक्ति खरेल रहेको बताउँछन् । उनी गीति लेखनका पछिल्लो पुस्ताको पनि आदर्श पुरुष रहेको चर्चा गर्छन् ।

‘नेपाली गीति परम्परामा उहाँभन्दा अगाडि पनि, उहाँभन्दा पनि जेष्ठ गीतकार पनि थिए । राष्ट्रकवि माधवप्रसाद घिमिरेजस्ता गीतकार पनि थिए,’ सरुभक्त भन्छन्, ‘तर, त्यो परम्पराभन्दा अलिक भिन्न र आधुनिक गीति परम्परालाई यो अवस्थासम्म पु¥याउने सर्वोच्च विन्दुमा किरण खरेल दाइ हुनुहुन्छ भन्दा कुनै अतिशयोक्ति हुन्छजस्तो लाग्दैन ।’ खरेलले माइतीघरसँगै, सिन्दुर, आघात, कन्यादान, तृष्णा, सारंगी, नाता रगतको, जीवन रेखा, कुमारी लगायत सयौं फिल्मका लागि सर्वकालीन सदावहार चर्चित गीत लेखेका छन् । चलचित्र कन्यादानका लागि लेखेको ‘तीजको लहर आयो बरिलै…’ होस् या ‘पर्वतको छोरी हुँ म, पार्वती हो नाउँ…’ आजपर्यन्त सदाबहार छ ।

तर, खरेलको परिचय गीतकारमा मात्रै सीमित छैन । उनी कुशल रेडियो प्रस्तोतादेखि कार्यक्रम सञ्चालकसमेत हुन् । ‘रेडियो नेपालमा कसैले नसोचेको अजीवको कार्यक्रम चलाउनुभो, धना लामासँग चलाएको सुन्दर सुशिल भन्ने कार्यक्रम रेडियो नेपालको पहिलो प्रायोजित कार्यक्रम थियो,’ वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठ भन्छन् । उनको ४ वटा गीति संग्रह पनि प्रकाशित छन् ।

खरेललाई २ लाख रुपैयाँको अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार

पोखरेली युवा सांस्कृतिक परिवारले उनै खरेललाई शनिबार पोखरामा २ लाख रुपैयाँको अम्बर गुरुङ पुरस्कार समर्पण गरेको छ । उनी उक्त पुरस्कार ग्रहण गर्ने पहिलो गीतकार बनेका छन् । परिवारले २५ लाख रुपैयाँको अक्षयकोष खडा गरी प्रत्येक २, २ वर्षमा संगीत क्षेत्रमा योगदान दिएका व्यक्तित्वलाई सम्मान दिने योजनाअनुसार खरेललाई सम्मान गरिएको अक्षयकोषका संयोजक वरिष्ठ साहित्यकार सरुभक्तले जानकारी दिए ।

 

नेपालको राष्ट्रिय गीतका संगीतकार अम्बर गुरुङ र गीतकार खरेल समउमेरका थिए । केही महिनाले गुरुङ जेठो भए पनि साथीसाथी भएको गीतकार खरेल सम्झन्छन् । उनले अम्बर गुरुङसँग चलचित्रका ५ र अन्य ५ गरी १० वटा गीतमा सहकार्य गरेका छन् ।

विसं. २०२४ सालमा पोखरामा भएको रुपरेखा संगीतमा भाग लिन दार्जिलिङबाट अम्बर गुरुङका साथमा शान्ति ठटाल, अरुणा लामा, शरण प्रधान, गोपाल योञ्जन, रञ्जित गजमेर, पिटर जे कार्थकसहितको सांगीतिक टोली सांगीतिक प्रस्तुति दिन पोखरा आएको थियो । त्यही समूहमा खरेल पनि सहभागी थिए । ‘दार्जिलिङबाट आएको उक्त टोलीसँग म पनि पहिलो पटक पोखरा आएको थिएँ,’ खरेल पुरस्कार ग्रहणपछि नोस्टाल्जिक बने, ‘रुपरेखा संगीतको कार्यक्रम सञ्चालनको जिम्मेवारी मैले नै वहन गरें । सम्झनामा अरु पनि धेरै कुरा छन् । तर, लामो बोल्न मेरो स्वास्थ्यले साथ दिँदैन ।’

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले पोखराबाट राष्ट्रियस्तरको पुरस्कार स्थापना गरिएको र पहिलो पटक नै किरण खरेललाई सम्मान गर्नै पाउँदा खुसी लागेको सुनाए । ‘यो वास्तवमा खरेलको मात्रै होइन, सम्पूर्ण पोखरेलीकै सम्मान हो । पुरस्कार आफैं सम्मानित भएको छ,’ उनले भने ।

पुरस्कार वितरण कार्यक्रममा सांगीतिक प्रस्तुति पनि राखिएको थियो । जसमा गायक विनोद बानियाँ, सन्तोष बस्याल र रजनी ऋदम राईले खरेलले लेखेका गीत प्रस्तुत गरेका थिए । कार्यक्रममै खरेलको गीति कृति ‘ए दूरका सितारा’ लोकार्पण पनि गरिएको थियो ।

प्रकाशित मिति २०८० वैशाख २३ गते शनिबार ०२:२८
हजुरको प्रतिक्रिया