पोखरा
पोखरा स्पोर्टस अवार्डको सातौं संस्करणको वर्षोत्कृष्ट खेलाडी क्रिकेटका करण केसी बनेका छन् । उपाधिसँगै विजेता केसीले टेल्जी नेपालको इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले बर्सेनि अवार्ड वितरण गर्र्दै आइरहेको छ । उत्कृष्ट ३ मा केसीसँगै आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदीप खड्का मनोनयनमा परेका थिए ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी केसीको जन्म बागलुङमा भएको थियो । राष्ट्रिय टोलीबाट एक दिवसीय क्रिकेटमा बलिङ तथा फिल्डिङमा ४० खेलमा खेलेका छन् । उनले त्यस अवधिमा ३ सय १४ रन बनाएका छन् ।
यसैगरी टि–२० मा ४३ खेल खेल्दै २ सय ८९ रन बनाएका छन् । बलिङतर्फ एक दिवसीय क्रिकेट प्रतियोगितामा ४० खेल खेल्दै ६१ विकेट लिएका उनले टि–२० मा ४३ खेल खेल्दै ६० विकेट लिइसकेका छन् ।
करणले नेपाललाई आइसिसी विश्वकप लिग–२ मा शीर्ष ३ मा रहँदै सोझै विश्वकप छनोटमा पु¥याउनुको साथै आगामी चारवर्षसम्मलाई ओडिआई मान्यता जोगाउन महत्वपूर्ण योगदान दिएका थिए ।
नेपालका तीव्र गतिका बलर करण केसीले लिग–२ मा सानदार प्रदर्शन गर्नेक्रममा ३० खेलमा २१५.५ ओभरमा १ हजार १ सय ३ रन खर्चेर ५० विकेट लिए । १५ ओभर मेडन राखेका करणले तीन पटक पाँच विकेट लिए ।
उनले तीन पटक ४ विकेट लिएका थिए । गतवर्ष ओमानविरुद्ध दुबै खेलमा पाँच–पाँच विकेट लिएका थिए । त्यस्तै २०२० मा ओमान र अमेरिकाविरुद्ध टियु मैदानमा लगातार दुई पटक चार विकेट लिएका थिए । उनी समग्र लिग–२ मै सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा छैटौं स्थानमा छन् ।
केसी भ्यालेन्टाइन ब्वाईका रुपमा समेत चर्चित छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध कीर्तिमानी पाँच विकेट लिएका थिए । करण ओडिआई क्रिकेटमा पाँच विकेट ३ पटक लिने नेपाली पहिलो खेलाडी हुन् ।
उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा क्रिकेटबाट स्वर्ण पदक जित्न सफल भए । यसका साथै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता सर्वोत्कृष्ट ब्याट्समेन चुनिए । ५ खेलमा ३४ ओभर बलिङ गर्दै १ सय २२ रन खर्चेर १३ विकेट लिएका करणले सेमिफाइनल खेलमा ६ विकेट लिए ।
‘यसरी नै खेलाडीलाई सम्मान गरेर फ्युचरमा अझै राम्रो गर्ने मौका दिनु भएकोमा हार्दिक धन्यवाद,’ पुरस्कृत भइसकेपछि खेलाडी केसीले प्रतिक्रिया दिए ।
यसअघि यो विधाबाट सितेरियो कराँतेका हेमन गुरुङ, लन टेनिसका कुमार अधिकारी, शारीरिक सुगठनका कमल भण्डारी, प्याराग्लाइडिङका युकेश गुरुङ, कराँतेका नविन रसायली र टेनिसका प्रदीप खड्का पुरस्कृत भइसकेका छन् ।
प्रकाशित मिति २०८० वैशाख २३ गते शनिबार ०५:३९




