पोखरा । पोखरा महानगरपालिकाले स्वास्थ्य संस्थामा पदपूर्ति गर्न कार्यालय सहयोगीदेखि डाक्टरसम्म गरेर ४७ जना कर्मचारी भर्ना गर्दै छ ।
मंगलबार दरखास्त दिने दिन सकिएको छ र आगामी जेठ ६ गते लिखित परीक्षा हुँदैछ । तर, करारमा कर्मचारी भर्ना गर्दा महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लाई मानेको छैन नै, लोकसेवा आयोगलाई पनि बेवास्ता गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐनको दफा ८३ मा नगर प्रहरी, सवारी चालक, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन, चौकीदार, माली र सरसफाइ कर्मचारी स्थायी पदपूर्ति नगरी प्रतिस्पर्धाको आधारमा करारबाट लिन सकिने व्यवस्था छ । त्यसबाहेक अन्य पदमा नियुक्ति गर्न नमिल्ने उक्त ऐनले स्पष्टै व्यवस्था गरेको छ ।
कानुन विपरीत जुन–जुन पदमा कर्मचारी विज्ञापनमार्फत माग गरिएको छ त्यसमा स्वस्थ प्रतिस्पर्धा हुनेमै शंका छ । प्रदेश र केन्द्रमा लोकसेवा आयोग छ र सर्वेक्षण गरेर आवश्यक भए माग गरेमा उसले जनशक्ति पदपूर्ति गरिदिन्छ । तर, लोकसेवा आयोगसँग कुनै समन्वय नगरी आफैंले रोजेका कर्मचारी भर्ना गर्न सकिने बाटोमा मेयर धनराज आचार्य लागेका छन् ।
प्रकाशित मिति २०८० वैशाख २७ गते बुधबार ११:४५




