२०८३ असोज २४ गते शनिबार

सेनाद्वारा अन्नपूर्ण हिमालबाट ३६ सय किलो फोहर सङ्कलन

सेनाद्वारा अन्नपूर्ण हिमालबाट ३६ सय किलो फोहर सङ्कलन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २७ गते बुधबार १२:३४

१ हजार २ सय किलो कुहिने र २ हजार ४ सय किलो नकुहिने फोहर सङ्कलन गरिएको टोलीले जनाएको छ ।

पोखरा

अन्नपूर्ण प्रथम हिमालबाट ३ हजार ६ सय किलो फोहर सङ्कलन गरिएको छ । आरोहणको ७२ वर्षपछि नेपाली सेनाको हिमाल सरसफाइ अभियानमार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहर सङ्कलन गरिएको हो ।

गत चैत १७ गते गएको सेनाको हिमाल सरसफाइ टोली मङ्गलवार आधार शिविरबाट फर्किएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । सेनाका १० र पिक प्रमोशन ट्राभल एजेन्सीका १३ जनाले ४८ दिनसम्म हिमाल र आधार शिविर क्षेत्रमा फोहर सङ्कलन गरेका थिए । सफाइ अभियानको नेतृत्व नेपाली सेनाका सेनानी गजेन्द्र देउवाले गरेका थिए ।

क्याप्टेन भीमबहादुर भुजेलसहितको टोलीले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोसम्मै पुगेर फोहर सङ्कलन गरेको हो । १ हजार २ सय किलो कुहिने र २ हजार ४ सय किलो नकुहिने फोहर सङ्कलन गरिएको टोलीले जनाएको छ ।

कुहिने फोहर आधार शिविरदेखि तीन घन्टाको पैदलयात्रा बेसीतर्फ झरेपछि पुगिने भुसकेतमा नारच्याङको अन्नपूर्ण युवा क्लबका प्रतिनिधिको रोहबरमा खाडल खनेर व्यवस्थापन गरिएको छ । नकुहिने फोहर प्रभु एयरको हेलिकोप्टरबाट म्याग्दीको दानामा ल्याइएको छ ।

आधार शिविरबाट हेलिकोप्टरमा ल्याइएको फोहर ट्रकमा राखेर दानाबाट काठमाण्डौमा रहेको नेपाली सेनाको मुख्यालयमा पठाइएको दानाका इन्द्रसिंह शेरचनले बताए । प्लास्टिक, टिन, फलाम र सिसाजन्य दुई हजार चार सय किलोग्राम फोहर काठमाण्डौ लगिएको हो ।

आरोहणको ७२ वर्षपछि अन्नपूर्ण हिमाल र आधार शिविर क्षेत्रमा सरसफाइ भएको गाउँ संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए ।

सेनाले अन्नपूर्ण, सगरमाथा, ल्होत्से र बरुञ्चे हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गरेको छ । गण्डकी प्रदेशमा रहेको ८ हजार मिटर अग्लो धवलागिरि र मनास्लु हिमालमा यसअगाडि नै सरसफाइ गरिएको थियो ।

हिमालमा हुने फोहरले वातावरणको सन्तुलन पनि गुमाएको र गलत सन्देश गएकाले सेनाले सफाइ अभियान चलाएको हो ।

सन् २०१९ देखि हिमाल सरसफाइ अभियान सञ्चालन गरेको नेपाली सेनाले अघिल्लो वर्ष सगरमाथा, ल्होत्से, मनास्लु र कञ्चनजङ्घा हिमालबाट कुहिने ७ हजार १ सय ५७ किलो फोहर सङ्कलन गरेको थियो ।

प्रकाशित मिति २०८० वैशाख २७ गते बुधबार १२:३४
हजुरको प्रतिक्रिया