२०८३ साउन २१ गते बिहीबार

गण्डकी अस्पतालकै क्यान्टिनमा ठगिन्छन् पोखरेली !

गण्डकी अस्पतालकै क्यान्टिनमा ठगिन्छन् पोखरेली !

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २८ गते बिहीबार ०६:५१

पोखरामा व्यापार, काठमाडौंमा दर्ता

पोखरा

गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको क्यान्टिनमै ग्राहक ठगीमा पर्ने गरेको खुलेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले बिहीबार गरेको अनुगमनका क्रममा अस्पतालको क्यान्टिनले नियमविपरीत चर्को मूल्य असुलिरहेको पाइएको हो ।

अस्पतालको क्यान्टिनबाट चर्को मूल्य असुली भइरहेको सूचनाका आधारमा प्रशासनको टोली अनुगमन गर्न पुगेको थियो ।

सोही क्रममा अस्पतालमा सञ्चालित ‘सुनिल क्यान्टिन तथा खुद्रा कपडा पसल’ले खरिदबिक्री बिल बिनै तोकिएको मूल्यभन्दा बढीमा सामग्री बिक्रिवितरण गरेको पाइएको जिल्ला प्रशासन कार्यालय कास्कीका सिडिओ गुरुदत्त ढकालले जानकारी दिए ।

सहायक सिडिओ ढकालका अनुसार अस्पतालकै क्यान्टिनमा लेबलबिनाका खाद्य वस्तुसमेत बिक्री वितरणका लागि राखिएको थियो ।

‘अनुगमनको क्रममा मूल्य बढी लिइएको पाइयो । खरिद बिल र बिक्री विल माग गर्दा पेश पनि गर्न सकेन । सर्वसाधारणले देख्ने गरी कानुनबमोजिमका कागजात पनि नराखेको पाइयो,’ उनले भने ।

पोखरामा व्यवसाय, काठमाडौंमा दर्ता

अनुगमनका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित उक्त क्यान्टिन पोखरा महानगरमा सूचिकृत नै नभएको पनि खुलेको छ ।

व्यवसाय पोखरा महानगर क्षेत्रभित्र सञ्चालित भए पनि काठमाडौं महानगरपालिकामा दर्ता भएको पाइएको सहायक सिडिओ ढकालले जानकारी दिए ।

‘व्यवसाय दर्ता प्रमाणपत्र, इजाजत पत्र पोखराको नभए काठमाडौं महानगरपालिकामा दर्ता भएकाले वोखरा महानगरमा सूचिकृत नै नभएको पाइयो,’ ढकालले भने ।

अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ खण्ड घ, ङ, ज र त को कसुर भएकाले उक्त ऐनअनुसार ३ दिनभित्र आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको ढकालले जानकारी दिए ।

प्रकाशित मिति २०८० वैशाख २८ गते बिहीबार ०६:५१
हजुरको प्रतिक्रिया