२०८३ साउन २१ गते बिहीबार

‘भन्छौं हामी बारम्बार, भ्रष्टचारीलाई कारागार’ (फाेटाे फिचर)

‘भन्छौं हामी बारम्बार, भ्रष्टचारीलाई कारागार’ (फाेटाे फिचर)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख ३० गते शनिबार ०३:३२

पोखरा
‘आवाजहरु ओ ! आवाजहरु,
अनुहारको कुन तप्काभित्र बसिरहेछौ ?
….
चियापसलमा भेटिन्छन राष्ट्रियताका ठूलाठूला हाँक
र संसदभवनमा भेटिन्छन्–जोकरहरु हुल ।’

कवि बाबु साहेबले पोखरामा भ्रष्टाचार त्यसका लागि राजनीतिक दलबाटै भइरहेको बेथितिविरुद्ध शनिबार कविताबाट आक्रोश पोखे । कविताबाटै नागरिकलाई ‘अब त बोल्नुपर्छ’ भन्दै नागरिकलाई सुसूचित गरे ।

साहित्यकार तथा रंगकर्मी परिवर्तनले मुक्तक सुनाए । उनले मुक्तकबाटै भनेः

‘मैले फुटेकालाई जुट भनेको थिएँ ।
बग्ने नै छ नदी अटूट भनेको थिएँ ।
त्यही कारणले मेरो हातमा हत्कडी लगाइयो,
मैले सुतेकालाई उठ भनेको थिएँ ।’

बृहत नागरिक आन्दोलन, पोखराले शनिबार पोखरामा आह्वान गरेको भ्रष्टाचार तथा त्यसको ढाकछोपविरुद्धको कार्यक्रममा उनीसहित आधा दर्जन कविले कविता वाचन गरे, सडक नाटक देखाए ।

राजनीतिक दलका भीआईपीहरु नै जोडिएको नक्कली भुटानी शरणार्थीदेखि विभिन्न भ्रष्टाचारका प्रकरणमा निष्पक्ष छानविन र कारवाहीका लागि अहिले देशैभरि विरोध कार्यक्रम भइरहेको छ ।

अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीहरु नै जोडिइरहेकाले अब बाँकी भ्रष्टाचारका फाइलहरु पनि खोलिनुपर्ने अधिवक्ता दीपक पराजुलीले बताए ।

‘जति पनि फाइलमा बन्द छन्, भ्रष्टाचारका काण्ड, अब ती सबै खोलिनुपर्छ,’ उनले भने, ‘अब त्यसलाई लुकाउन दिइनुहुँदैन । हामी त्यसैका लागि सडकमा आएका छौं ।’

वरिष्ठ रंगकर्मी अनुप बरालले राज्य संयन्त्रबाटै अपराधिक काम भइरहेकाले नागरिक तहबाटै विरोध हुनुपर्ने बताए । उनले नेपालीलाई शरणार्थी बनाउने राज्य संयन्त्रबाटै संगीन अपराध भएको आरोप लगाए ।

‘त्यसलाई अझ राष्ट्रको नेतृत्वमा बसेका ठूला पद ओगटेका उनीहरुले नै ढाकछोप गर्ने प्रयत्न गरे त्यसले हाम्रो देश भ्रष्टाचारको जरो कति गहिरो र नमिठो तरिकाले संयन्त्रहरुमा गढेको छ पोष्टमार्टमा गरेको छ’, बरालले भने ।

अभियन्ता गनेस पौडेलले पाइलापाइलामा भ्रष्टाचार बढेर गएकाले नागरिकले विद्रोह गर्नुपर्ने बाध्यतात्मक स्थितिमा आइपुगेको सुनाए ।

‘बाटोमा भ्रष्टाचार छ । ढलमा भ्रष्टाचार छ । नलमा भ्रष्टाचार छ’, उनले भने, ‘कहिलेकाहीं त लाग्छ मैले खाने पानी र मैले फेर्ने श्वासमा पनि भ्रष्टाचार छ । मैले बिरामी हुँदा सेवन गर्ने औषधिमा भ्रष्टाचार छ ।’

विरोध कार्यक्रममा पोखरा थिएटरका कलाकारले सडक नाटक प्रस्तुत गरेका थिए । उनीहरुले मौलाइरहेको भ्रष्टाचार र विभिन्न राजनीतिक चलखेल र हस्तक्षेपविरुद्ध सांकेतिक प्रस्तुति राखेका थिए ।

विरोध कार्यक्रममा सुरज उपाध्याय, बाबु साहेब, सुरेश रानाभाटलगायतले कविता सुनाएका थिए ।

‘टोपबहादुर हो कि टापबहादुर’, ‘करोडौं पर्ने बंगला तिमीलाई कसले किन्दियो’, ‘जो अर्वौ पैसा पचाउँछ, राज्यले त्यसैलाई बचाउँछ’, ‘मन्त्री सोचेको तस्कर र बिचौलिया पो परेछ’, ‘देशमा अर्थतन्त्र मन्द छ, नेताहरुको भ्रष्टाचार धन्दा छ’, प्रदर्शनमा सहभागीले व्यंग्यात्मक शैलीका प्लेकार्ड प्रदर्शन गरे ।

‘भन्छौं हामी बारम्बार, भ्रष्टचारीलाई कारागार’, ‘सरकार, ठूला माछा पकडी लगा छिटो हत्कडी’, ‘नेताहरुको घडीमा तस्करको ब्याट्री छ’, केहीबेर नारा चर्काए ।

प्रकाशित मिति २०८० वैशाख ३० गते शनिबार ०३:३२
हजुरको प्रतिक्रिया