पोखरा
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा मुछिएर पक्राउ परेकाहरुको बयान लिने क्रम जारी छ । पक्राउ परेका पूर्वमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीको सोमबारबाट बयान सुरु भएको छ । आज मंगलबार पनि उनको बयान हुने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बताएको छ ।
जिल्ला अदालतबाट थुनामा राख्द म्याद लिएलगत्तै बबरमहलस्थित सरकारी वकिल कार्यालयमा हिजो उनको बयान भएको थियो । सरकारी वकिल कार्यालय स्रोतका अनुसार उनले सो विषयमा आफूलाई जानकारी नै नभएको दाबी गदै आएका छन् । पक्राउ परेका बिचौलियाहरू सानु भण्डारी र सन्देश शर्मासँग उनको विशेष निकटता देखिएको प्रहरीको भनाइ छ । उनले भण्डारी र शर्मासँग चिनजान भएपनि पैसा नलिएको दाबी गरेका छन् । तर, प्रहरीले पैसा लिएको प्रमाण भएको बताएको छ ।
शरणार्थीका नाममा भएको ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान लिने क्रम पनि जारी नै छ । हिजो उनको डेढ घन्टा बयान भएको छ । पेटमा समस्या भएको भन्दै उनले थप बयान गर्न नसक्ने बताएपछि बीचमै रोकिएको थियो । खाणको आज मंगलबार बयान हुनेछ ।
आफूविरुद्ध अन्य अभियुक्तले दिएको बयानकोे जानकारी लिने र कानुन व्यवसायीसँग छलफल गरेर मात्र खाण बोल्ने गरेको प्रहरी स्रोतको भनाइ छ । यस प्रकरणमा हालसम्म १३ जना पक्राउ परेका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहविरुद्ध प्रहरीमा उजुरी परेपछि गत चैत १२ गते प्रहरीले ३ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो ।
पक्राउ परेकाहरुको बयानको आधारमा धमाधम उच्चपदस्थ व्यक्ति पक्राउ पर्न थालेका हुन् । कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाले आत्मसमर्पण गरेका छन् । यो प्रकरणमा मुछिएका उनी काठमाडौं प्रहरी परिसरमा आफै पुगेका हुन् । अहिलेसम्म यो प्रकरणमा १ सय ६ जनाका तर्फबाट करिब २४ करोड रुपैयाँ ठगी भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।
प्रकाशित मिति २०८० जेठ २ गते मंगलबार ०८:११




