पोखरा
‘पेट्रोलियम पदार्थ विक्रेता नियमावली २०७५ को मापदण्ड विपरित पोखराका अधिकांश पेट्रोलपम्प सञ्चालित छन् ।
पेट्रोलपम्प सञ्चालन गर्न पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा ५ रोपनी हुनुपर्छ । राजमार्ग वा अन्य सडकबाट करिव ५ सय मिटर भित्रको जग्गामा नमूना पम्प विक्रेताको विक्री स्थल निर्माण गर्दा १० मिटरको पहुँच मार्ग आवश्यक पर्छ । यहीं एउटा मापदण्ड पनि पोखराका पेट्रोलपम्पले पूरा गरेका छैनन् । तर, परिमाण र गुणस्तरमा भने ठिकठाक पाइएको छ ।
पोखरा महानगरपालिकाले मंगलबार गरेको पेट्रोलपम्पको अनुगमनमा परिमाण र गुणस्तरमा कैफियत फेला परेन् । महानगरमा सञ्चालित ५ पेट्रोलपम्पमा अनुगमन गरिएको थियो । हेमजाको जयबुद्ध आयल स्टोर्स, सिमापानीको पराजुल आय स्टोर्स, मालेपाटनमा सशस्त्र प्रहरी बलले सञ्चालन गरेको कालिका फ्युल स्टेसन, मासबारको बराल आयल डिष्ट्रिब्युटर्स र विरौटाको अन्नपूर्ण आयल डिष्ट्रिब्युटर्समा अनुगमन गरिएको हो ।
पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ नेतृत्वको अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालय, नेपाल गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमका समेत सहभागि थिए । डिजेल र पेट्रोलको परिमाण, गुणस्तर, व्यवसाय दर्तासँगै नविकरण भए नभएको अनुगमन गरेको पोखरा महानगरपालिका अनुगमन समिति सदस्य भरतराज पौडेलले बताए । ‘परिणाम र गुणस्तरमा कैफियत फेला परेन’, पौडेलले भने ।
उनका अनुसार केही पम्प महानगरमा बिना दर्ता सञ्चालन भएको पाइएको छ । महानगरमा दर्ता गर्न निर्देशन दिएको उनले बताए ।







प्रकाशित मिति २०८० जेठ २ गते मंगलबार ०१:०५



