पोखरा
गाउँको विद्यालयलाई सहयोग जुटाउन घान्द्रुकका युवा एभरेष्ट म्याराथनमा सहभागि हुने भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकमा रहेको मेश्रम बराह माध्यमिक विद्यालयलाई सहयोग जुटाउन यहाँका ७ जना युवा एभरेष्ट म्याराथनमा सहभागि हुन लागेका हुन् ।
जेठ १५ गते १८ औं संस्करणको एभरेस्ट म्याराथन हुदैंछ । ७० किलोटिरसहित ४२ र २१ किलोमिटरको दुरीको फुल र हाफ म्याराथन हुनेछ । घान्द्रुके युवाहरु सूर्यबहादुर गुरुङको नेतृत्वमा ४२ किलोमिटर बेसक्याम्पदेखि नाम्चे बजारसम्मको दुरी दौडनेछन् ।
सुर्य गुरुङसँगै तर्कजंग गुरुङ, जीतबहादुर गुरुङ, जुमप्रसाद गुरुङ, बुद्धिलक्ष्मी गुरुङ, फत्तबहादुर गुरुङ र सरोज लिम्बु म्याराथनमा सहभागि हुनेछन् । म्याराथनमा सहभागि भएर ५ हजार पाउण्ड संकलन गर्ने लक्ष्य राखेको संयोजक सुर्य गुरुङले बताए । ‘हालसम्म झन्डै दोब्बर रकम संकलन भइसकेको छ’, उनले भने ।
मेश्रम बराह माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा शिक्षकको तलब भत्ता विद्यालयले नै जुटाउनुपर्ने भएको आर्थिक समस्या रहेको सुनाए । विद्यालयलाई पर्यटन सम्बन्धि नमुना शिक्षण संस्था बनाउने योजना छ ।
प्रकाशित मिति २०८० जेठ २ गते मंगलबार ०६:४०




