२०८३ साउन २१ गते बिहीबार

अनुसन्धान प्रतिवेदन तीन दिन भित्र बुझाउने प्रहरीको तयारी

अनुसन्धान प्रतिवेदन तीन दिन भित्र बुझाउने प्रहरीको तयारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ ४ गते बिहीबार ०७:५१

संगठित अपराध मुद्दामा ६० दिनभित्र मुद्दा चलाउनुपर्ने प्रावधानले आगामी जेठ १० भित्र जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुपर्नेछ ।

पोखरा

भुटानी शरणार्थीको नाममा भएको ठगी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । प्रहरीले गत चैत १२ मा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो । उक्त घटनामा पूर्व मन्त्रीहरु टोपबहादुर रायमाझी, बालकृष्ण खाणसहित १३ जना पक्राउ परेका छन् भने २ जना अझै फरार रहेका छन् । प्रकरणको अनुसन्धान प्रतिवदेन ३ दिन भित्र जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी प्रहरीले गरेको छ ।

६० दिन भित्र अनुसन्धान सकेर वकिलको कार्यालयमा प्रतिवदेन बुझाउनु पर्ने दबबामा प्रहरी छ भने पक्राउ परेकाहरु विरुद्ध भने प्रमाण जुटाएको प्रहरीको दाबी छ । प्रकरणमा १ सय ६ जना पीडितका २० वटा उजुरी प्रहरीमा दर्ता भएका छन् । उनीहरुले आफूहरूबाट २३ करोड २५ लाख रकम असुल गरेर ठगी गरिएको जाहेरीमा उल्लेख गरेका छन् । राज्यविरुद्धको कसुरमा प्रमाणित भए ५ वर्ष कैद र ५० हजार रुपैंयाँ जरिवाना हुने व्यवस्था छ । कसुर गर्दा बखत रकम लेनदेन गरेको प्रमाणित भए सबै रकम राज्यले जफत गर्नेछ ।

पक्राउ परेका मध्ये १२ जनाको बयान सकिएको छ । पूर्वसभासद् आङटावा शेर्पाको बुधबार बयान भएको छ । उनको बयान सकिएपछि रायसहितको अनुसन्धान प्रतिवेदन वकिलको कार्यालयमाबुझाउने तयारी प्रहरीले गरेको हो । संगठित अपराध मुद्दामा ६० दिनभित्र मुद्दा चलाउनुपर्ने प्रावधानले आगामी जेठ १० भित्र  जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुपर्नेछ ।

राजनीतिक दलका नेता, सरकारका उच्च कर्मचारी नै यो प्रकरणमा मुछिएका छन् भने मुद्दालाई कमजोर बनाउन चलखेल पनि भइरहेको प्रहरी स्रोतले बताएको छ । पक्राउ परेकालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले बुधबार अनुमति दिएको छ ।

 

 

 

 

 

प्रकाशित मिति २०८० जेठ ४ गते बिहीबार ०७:५१
हजुरको प्रतिक्रिया