नेपालले किर्गिस्तानसँग खेल्दै
काठमाडौं
एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप आजदेखि काठमाडौंमा सुरु हुँदैछ । भलिबल इतिहासमै नेपालको महिला टिमले घरेलु कोर्टमा खेल्न लागेको अहिलेसम्म ठूलो प्रतियोगिता हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगितामा मध्य एसियाका ८ देशले प्रतिस्पर्धा गर्दैछन् । नेपालले आज नेपालले किर्गिस्तानसँग खेल्दैछ । नेपाल र किर्गिस्तानबीचको खेल साढे चार बजे सुरु हुनेछ । समूह ए मा नेपाल र किर्गिस्तानसहित भारत र बंगलादेश छन् । लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गर्ने लक्ष्यमा नेपाल छ ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) मा आबद्ध १४ मध्ये ८ देशले प्रतिष्पर्धा गर्नेछन् । विश्व भलिबलमै आफ्नो उपस्थिति देखाएको काजखस्तान र दक्षिण एसियाको बलियो टोली भारत प्रतियोगिता सहभागी छन् । समूह बी मा काजाखस्तान, उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स छन् । पछिल्लो संस्करणको उपविजेता उज्वेकिस्तान र श्रीलंकाबीच आज पहिलो खेल हुनेछ । एक सातासम्म चल्ने प्रतियोगितामा समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
प्रकाशित मिति २०८० जेठ ८ गते सोमबार १०:२१




