पोखरा
नक्कली भुटानी शरणार्थी प्रकरणमा आज अदालतमा अभियोजन दर्ता गरिने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अभियाजन दर्ताको तयारी गरेको हो । प्रहरीले भुटानी शरणार्थीको नाममा भएको ठगी घटनाको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।
अभियोजनका लागि गठित ८ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र तयार गरिरहेको हो । उक्त घटनामा पूर्वमन्त्री, सचिवसहितका १६ जना पक्राउ परेका छन् । अरु थप १७ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउने राय प्रहरीले दिएको छ ।
ठगी, राज्यविरुद्धको अपराध र संगठित ठगीमा मुद्दा चलाउन सकिने निष्कर्ष प्रहरीको छ । संगठित अपराधको घटनामा ६० दिनभित्र अदालतमा अभियोजन दर्ता गरिसक्नु पर्ने कानुनी व्यवस्थाले आज अभियोजन दर्ता गर्न लागिएको हो । अभियोजन दर्ता भएपनि उक्त घटनामा थप अनुसन्धानको पाटो खुला नै रहेको प्रहरीको भनाइ छ । सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगमा पनि अनुसन्धान गर्न लेखी पठाउन राय प्रहरीले दिएको छ ।
शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, नेकपा एमालेका निलम्बित सचिव पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव (निलम्बित सचिव) टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायत १६ जना पक्राउ परेका छन् ।
पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ जना फरार छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर गठी गर्ने प्रकरणका दोषीलाई कडा कारबाही गर्न नागरिकस्तरबाट देशका विभिन्न ठाउँमा प्रदर्शन समेत भएको छ ।
प्रकाशित मिति २०८० जेठ १० गते बुधबार ०८:१६




