पोखरा
पोखरा वडा नम्बर १५ कार्यालयले २५ जना युवायुवतीलाई बारिस्टा (कफि मेकिङ) तथा बेकरी तालिम दिएको छ । किंगस् इन्टरनेसनल कलेज प्रालि, रुपन्देहीको प्राविधिक सहयोगमा सञ्चालित तालिम मंगलबार सकिएको छ ।
निशुल्क रुपमा आयोजना गरिएको तालिम १५ दिन सम्म चलेको थियो । प्रशिक्षक मुना राना मगरले १५ दिने सीपमूलक तालिममा सक्रिय सहभागिताका लागि युवाहरुलाई धन्यवाद दिँदै सिकेको ज्ञानलाई व्यवहारिक प्रयोगमा ल्याउन आग्रह गरिन् । प्रशिक्षार्थीका तर्फबाट शर्मिला परियारले तालिममा कफिबारे बुझ्न र बनाउन सिकेको बताए ।
तालिम समापन कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले युवाहरुलाई स्वरोजगार र उद्यमी बनाउने उद्देश्यका साथ वडाले आयोजना गरेको कार्यक्रम प्रशंसनीय रहेको बताइन् ।
पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाले वडामा रहेका युवा तथा महिलाहरुलाई केन्द्रित गरी विभिन्न तालिमहरु दिँदै आएको बताए । उनले युवाहरू बेरोजगार भए, विदेशिने क्रम बढे भन्दै यसैलाई मध्येनजर गरी पहिले कपाल काट्ने तालिम आयोजना गरेको र अहिले बारिष्टा तालिम गरिएको बताए ।
तालिममा सहभागी २५ प्रशिक्षार्थीलाई पोखरा महानगरका उपमेयर मञ्जुदेवी गुरुङ, वडाध्यक्ष तोरण बानिया, प्राविधिक सहयोगकर्ता किंगस् इन्टरनेशनल कलेजका डाइरेक्टर ठाकुरप्रसाद शर्मा, वडा सदस्य मन्दिरा परियार, बलराम पौडेल, सेतीमाया गुरुङ लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।
प्रकाशित मिति २०८० जेठ १० गते बुधबार ०८:४७




