चोकमा सीसि क्यामेरा, युवालाई सीप र रोजगार मेला
पोखरा
पोखरा महानगरपालिका वडा नम्बर १३ ले एक वर्षमा गरेको काम सार्वजनिक गरेको छ । वडाध्यक्ष किरण बराल नेतृत्वको टिमले निर्वाचित भएर आएपछि गरेको काम शनिबार सार्वजनिक गरेको हो ।
वडाध्यक्ष बरालले कार्यभार सम्हालेपछि सेवा प्रवाहसँगै युवालाई सीपमूलक तालिममा जोड दिएको छ । सीपमुलक तालिम अन्र्तगत वडाले ७१ जनालाई कफी बनाउने बारिष्ता तालिम दिएको वडाध्यक्ष बरालले जानकारी दिए । एसइई दिएर बसेका विद्यार्थीका लागि लक्षित गर्दै कम्युटर तालिम र कपाल काट्ने तालिम सञ्चालन भइरहेको उनले बताए । सीपलाई बजारसम्म पु¥याउन वडाले रोजगार मेला पनि गरेको छ । ‘हामीले कोसँग के सीप छ त्यहीं अनुसार बजारमा समन्वय गरेका छौं’, वडाध्यक्ष बरालले भने ।
वडाले विद्यालयमा स्वास्थ्य शिविरसँगै वडाबासीको निशुल्क स्वास्थ्य परीक्षण, ४ सय महिलाको पाठेघर परीक्षण, वडामा आउने सेवाग्राहीलाई सेवासँगै स्वास्थ्य जाँच, कृषि प्रदर्शनी, किसानलाई अनुदान वितरण गरेको छ । वडाका ५ हजार घरधुरीलाई कागतीका बिरुवा वितरण गरेको वडाध्यक्ष बरालले बताए । यो अवधिमा डुबानबाट रोक्न कमलपोखरीसँगै काँहुखोला घट्टेखोला सरसफाइ गरेको उनको भनाइ छ ।
भौतिक पूर्वाधारतर्फ दाद्रदेखि छापाचौतारिसम्म सडक कालोपत्रे, काहुँखोला पैरोपानी आर्वा सडक कालोपत्रे, महाप्रभुधाममा हाइमाक्स लाइट जडान, खामघले सडक स्तरोन्नती, काहुखोला करिडोर निर्माण लगायतका काम भएको छ । सडक सुरक्षाका लागि वडाले चोक चोकमा सीसि क्यामेरा जडान गरेको छ । निर्वाचनको बेला आफूले गरेका वाचा पुरा गर्नलाई कुनै काम बाँकी नराखेको वडाध्यक्ष बरालले बताए । उनले काम गर्ने गतिमा बाँकी ४ वर्षमा पनि ब्रेक नलाग्ने बताए ।
भौतिक पूर्वाधारसँगै मानवीय विकास र सचेतनलाई जोड दिएर काम गरेको बताए । वडाबासीले पनि १ वर्षमा गरेको काम प्रशंसनीय रहेको बताउँदै यो गतिलाई निरन्तरता दिन सुझाव दिए । वडाको समानुपातिक ढंगले विकास गर्न आवश्यक रहेको वडाबासीको भनाइ छ ।
प्रकाशित मिति २०८० जेठ १३ गते शनिबार ०६:०१




