पोखरा
मौसमले लुकामारी खेल्दैछ । छिनभरैमा वर्षात, छिनभरमै घाम लाग्छ । घामपानीको वास्ता नगरी फेवाताल किनारको रत्नमन्दिर सिंगारिदैछ । शुक्रबार दिउँसो रत्नमन्दिर पुग्दा कोहि गमलामा फूल रोप्दै थिए त कोहि मर्मतसम्भार गर्दै ।
गणतन्त्र दिवसरको अवसर पारेर सोमबारदेखि रत्नमन्दिर खुल्ने भएपछि सरसफाई, मर्मतसम्भार र सिंगार्ने काम तिब्र गतिमा भइरहेको छ । बन्द भएको रत्नमन्दिरको ढोका राजतन्त्रको अन्त्य भएको १५ वर्षपछि सर्वसाधरणका लागि खुल्दैछ । रत्नमन्दिर २०१५ सालमा बनेको हो । जहाँ राजा तनावमुक्त हुन आउथे ।
२०६२/०६३ को जनआन्दोलनले राजासंस्थाको अन्त्य भइसकेपछि रत्नमिन्दरको ढोका बन्द थियो । बेलाबखत सर्वसाधरणका लागि खुला गर्ने चर्चा चलेपनि खुल्न सकेको थिएन ।
गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री भएको बेला त नीजि क्षेत्रलाई तारे होटल चलाउन दिन सम्भाव्यता समेत अध्ययन भएको थियो । तर, नागरिकस्तरबाट चर्को अलोचना भएपछि नीजि क्षेत्र हातमा पर्न पाएन ।
सर्वसधारणका लागि रत्नमन्दिर खुलेपनि दरबारको भुइँतला मात्रै हेर्न पाउनेछन् । रत्नमन्दिर १७४ रोपनी क्षेत्रफलमा फैलिएको फैलिएको छ । सोमबार रत्नमन्दिर खुला गर्न पर्यटनमन्त्री सुदन किराँती पोखरा आउदैछन् ।





















