पोखरा
अग्लो पर्खाल, उस्तै अग्ला रुखले ढाकिएको छ, पोखरा लेकसाइडस्थित रत्नमन्दिर । फेवाताल किनारको रत्नमन्दिर छिर्नु त कसरी बाहिरबाट राम्ररी हेर्न समेत मुस्किल थियो । कस्तो होला ? बाहिरबाट चिहाउनेलाई भित्र छिरेर हेर्ने उत्सुकता जाग्थ्यो । तर, गणतन्त्र आइसक्दा पनि यो रहस्यकै केन्द्रमा थियो । लेकसाइडका हरि आचार्यलाई पनि यहाँको रहस्य जान्न रत्नमन्दिर छिर्ने धोको थियो । घर छेउको दरबार छिर्न त्यति सम्भव थिएन ।
सोमबार उनी दरबार परिसर छिरे । उनले कल्पना गरेको भन्दा फरक देखियो रत्नमन्दिर । ‘मैले भित्र एकदमै विशाल दरबार, एकदमै राम्रो । केहि…नरायाणहिटी दरबार जस्तो होला भन्ठानेको थिए । तर…. भित्र छिर्न त पाएनौं राम्रै छ’, उनले भने । तत्कालीन राजा महेन्द्र शाहले पोखरा फेवा किनारमा टहलिन २०१५ सालमा आफ्नी रानीको नाममा बनाएको रत्नमन्दिरमा सर्वसाधरण छिर्न पाउने कुरै भएन । ३ वर्षमा निर्माण पूरा भएको बंगला राजतन्त्रमा पहुँचको भरमा राजाले इच्छाएका व्यक्तिमात्र छिर्न पाउँथे । रत्नमन्दिर गणतन्त्र आएपछि पनि जनताको बनेन ।
२०६२-६३ को जनआन्दोलनले राजा फालेर गणतन्त्र ल्याएपछि नारायणहिटी राजदरबार बरु जनताको बन्यो तर रत्नमन्दिर केबल चर्चाको केन्द्रमात्र बन्यो । गणतन्त्र आएको १५ वर्षपछि बल्ल रत्नमन्दिरमा नागरिकले छिर्न पाएका छन् । सोमबार गणतन्त्र दिवसको दिन खुला गरिएपछि बल्ल सर्वसाधरणले पाइला टेक्न पाए ।
नेपाल ट्रस्टका अध्यक्ष समेतरहेका पर्यटनमन्त्री सुदन किराँतीले सर्वसाधरणका लागि रत्नमन्दिरको प्रवेशद्वार खुला गराए र भने ‘यो राजदरबार अब जनताको भयो, गणतन्त्रको उपहार स्वरुप ।’ पोखरेलीको चाहाना पूरा गर्दै रत्नमन्दिर खुलाएको उनले बताए । रत्नमन्दिर इतिहास भएकाले जोगाउनुपर्ने मन्त्री किराँतीको भनाइ छ । ‘यो हाम्रो इतिहास हो । इतिहासको विषय भइसकेको छ । र यसलाई एउटा महत्वपूर्ण गन्तव्यको रुपमा विकास गर्नुपर्छ’, उनले भने । उनले पोखरा आउने पाहुनलाई आधा दिन अलमलाउने बाटो सिर्जना भएको जिकिर गरे ।

१७४ रोपनी क्षेत्रफलमा रत्नमन्दिर र हिमागृह फैलिएको छ । हाललाई रत्नमन्दिर परिसर मात्रै सर्वसाधरणका लागि खुलेको हो । रत्नमन्दिर अर्थात दरबारभित्र अझै पनि सर्वसधारण पस्न पाउने छैनन् । दरबारको कोठाचोठा कहिले डुल्ने चाहना भएपछि मात्र बाहिरबाटै दरबार हेर्नेछन्, परिसर घुम्नेछन् । हिमागृह पनि क्रमशः खोल्ने पर्यटनमन्त्री किरातीको दाबी छ, तर टुंगो छैन । तत्कालीन राजारानीले प्रयोग गर्ने सामाग्री, सुत्ने कोठा हेर्न नपाए पनि परिसरमात्र टेक्न पाउँदा पोखरेली दंग छन् । किनकी वर्षौदेखि खुल्ने चर्चा भएपनि गफमै सीमित थिए । रत्नमन्दिर परिसर प्रवेश गर्ने नागरिकले कल्पनाभन्दा फरक अनुभूत गरे । दरबारभित्र पस्ने उत्सुकता भने जगाएको छ ।
पुम्दीकोटबाट रत्नमन्दिर नियालिरहने नरनाथ बराल सोमबार बिहानै आए । टाढाबाट नियालेका उनले रत्नमन्दिरलाई पृष्ठभूमिमा राखेको तस्विर खिचाए । गणतन्त्रको आएको १५ वर्षपछि पनि जनताले दरबारको दैलो टेक्न पाउनुलाई सकरात्मक लिएका छन् । भन्छन्, ‘मुख्य रत्नमन्दिरको भवन खुलेन । त्यहाँभित्र के छ भन्ने फेरि कौतहुलता जाग्यो ।’ दरबारभित्र के छ भनेर हेर्न आतुर भएको उनले बताए । रत्नमन्दिर परिसरमा पूर्वाधार थपेर गन्तव्य बनाउनुपर्ने उनको भनाइ छ ।
न्युरोडकी पवित्रा केसीले प्रवेशद्वार खुलेर रत्नमन्दिर छिरेपछि दरबारभित्र के होला भनेर झन जिज्ञासा जागेको बताइन् । ‘मैले सोचेको भन्दा धेरै फरक पाए । पहिला यो भित्र के छ होला ? यो साँघुरोमा छ होलाजस्तो मेरो कल्पना थियो’, उनले भनिन्, ‘यहाँ आएपछि धेरै फराकिलो र हेर्न लायक रहेछ ।’ उनले अगाडि थपिन्, ‘रत्नमन्दिर (दरबार) भित्र के होला भनेर अझै कौतुहुलता जागेको छ । छिट्टै निकट भविष्यमा भित्रको पनि हेर्न पाउनेछौैं भन्ने अपेक्षा छ ।’
रत्नमन्दिरमा राजदरबार, फेवातालसँगै जोडिएका तालघर, बागबगैंचा लगायत संरचना छन् । दरबारमा राजा, रानी, युवराज, युवराज्ञीका छुट्टाछुट्टै कोठा र प्रयोग गर्ने सरसामान छन् । तालघरबाट फेवाताल, रानीवन र विश्व शान्ति स्तुपको मनमोहक दृश्य देखिन्छ । रत्नमन्दिर यसअगाडि निजी क्षेत्रलाई ठेक्कामा दिने तयारी थियो । पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले टेण्डर पाए पनि पोखरेलीको चर्को विरोधले सरकार पछि हट्न बाध्य बन्यो । फलस्वरुप आज रत्नमन्दिर परिसर त खुल्यो तर सरकारले फेरि कतै निजी क्षेत्रलाई सुम्पिने त हैन ? पोखरेलीको चिन्ता कायमै छ ।
पोखराका पर्यटन व्यवसायी टिकाराम सापकोटा व्यपारीकरण गर्न नहुने तर्क राख्छन्् । सम्पदालाई सम्पत्तिको रुपमा लिनुपर्ने उनको सुझाव छ । ‘यसलाई व्यापरिकरण गर्नुहुदैन् । भाडामा दिएर अर्थात निजीकरण गरेर अगाडि बढाउनु हुदैन । त्यसो गर्दा सम्पदा नष्ट हुन्छ’, उनले भने, ‘सम्पदा भनेका गहना हुन । गहनालाई भाडामा दिएर त्यसको महत्व हुदैन ।’
नागरिक अभियान्ता रामबहादुर पौडेल व्यवसायिक प्रायोजनका लागि ठेक्कामा लगाए आन्दोलनमा उत्रने चेतावनी दिन्छन् । ‘यहाँ चिया कफीको कुरामा ठेक्का पट्टा भयोे भने हाम्रो कडाइको साथ आन्दोलन हुनेछ’, उनले भने । पर्यटकलाई भार नपर्ने गरेर टिकट शुल्क लिनुपर्ने उनको तर्क छ । नेपाल ट्रस्ट बोर्डले टिकट शुल्क तोकेको छ । सोमबार उदुघाटनको अवसरमा निशुल्क हेर्न पाएका छन् । नेपाली पर्यटकले एक सय रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्छ । विद्यार्थी, ज्येष्ठ नागरिक, अपांग र अशक्तका लागि ५० रुपैयाँ र विदेशी पर्यटकलाई एक हजार रुपैयाँ तोकिएको छ ।
२०६४ साल असोज २१ गतेको मन्त्रिपरिषदको निर्णयले रत्नमन्दिरलाई नेपाल ट्रष्टको मातहात ल्याउने निर्णय गरेर २०६७ पुस २० गते ट्रस्ट मातहातमा आएको हो । रक्षा, गृह हुँदै पर्यटन मन्त्रालय मातहत आएपछि खुला भएको रत्नमन्दिरको नेपाली र विदेशीका लागि फरक फरक शुल्क तोकिने भएको छ । तर, दरबारभित्र छिर्न नपाउने, भित्र कुनै गतिविधि पनि नहुने हो भने रत्नमन्दिर शुल्क असुल्ने थलोमात्रै बन्ने हो कि भन्ने चिन्ता पनि नागरिकस्तरबाट उठिरहेको छ । रत्नमन्दिरको प्रवेशद्वार खुलेपछि आम सर्वसाधरणमा झन् कौतहुलता बढेको, दरबारभित्र के होला ? कस्तो होला ? दरबार र हिमागृह हेर्ने सर्वसाधरणको धोको पूरा होला या चर्चामै सीमित हुने हो, त्यो भने समयले बताउने छ ।





