प्रारम्भिक सुनवाइको पेसी आज
पोखरा
टीकापुर घटनमा दोषी ठहर भई जन्मकैदको सजाय पाएका पूर्व सांसद रेशमलाल चौधरीको सजाय मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा चौधरीको सजाय मिनाहा गरेका थिए । सरकारको निर्णय अनुसार जेठ १५ गते उनी काठमाडौंको डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।
सरकारको निर्णय विरुद्ध मंगलबार रिट निवेदन दर्ता भएको हो । रिट निवेदनमा प्रारम्भिक सुनवाइका लागि आज पेसी तोकिएको सर्वोच्च अदालतले जानकारी दिएको छ । टीकापुर घटनाबाट पीडित शारदा कठायत लगायतले सजाय माफी गर्ने निर्णय विरुद्ध अदालतमा रिट दर्ता गरेका हुन् ।
जिल्ला उच्च, र सर्वोच्च अदालतबाट जन्मकैदको सजाय तोकिएका उनलाई बाँकी सजाय मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध चौतर्फी विरोध भएको छ । २०७२ भदौ ७ गते भएको घटनामा ७ प्रहरीसहित ८ जनाको ज्यान गएको थियो ।
पूर्वप्रहरी कर्मचारी संगठनले चौधरीलाई सजाय मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध सडकमा विरोध गरेको छ । संगठनले सुनसरीको इनरुवा राष्ट्रपति र प्रधानमन्त्री पुत्ला दहन गरेको थियो ।
प्रकाशित मिति २०८० जेठ १७ गते बुधबार ०७:५८




