पोखरा
गण्डकी प्रदेश सरकारलाई संघ सरकारले आगामी वर्षको लागि १३ अर्ब ६० करोड ४० लाख रुपैंयाँ अनुदान दिएको छ । चालु आर्थिक वर्षका लागि संघ सरकारले १६ अर्ब ५४ करोड ३२ लाख अनुदान दिएकोमा आगामी वर्ष २ अर्ब ९३ करोड ९२ लाख कम बजेट गण्डकीलाई संघ सरकारले छुट्टयाएको हो ।
चालुतर्फ नौ अर्ब ४३ करोड १८ लाख र पुँजीगततर्फ चार अर्ब १७ करोड २२ लाख छुट्याइएको छ । जसमा समानीकरण अन्तर्गत ७ अर्ब ६२ करोड २५ लाख, ससर्तमा चार अर्ब ४४ करोड १५ लाख, विशेषमा ७० करोड र समपूरकमा ८४ करोड अनुदान दिने अर्थ मन्त्रालयले जनाएको छ ।
असार १ गते बजेट ल्याउने तयारीमा रहेको गण्डकी सरकार गत जेठ १२ गते बजेटका सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत गरेको थियो । बजेटका सिद्धान्त र प्राथमिकतामा अहिले संसद छलफल चलिरहेको छ । असार १ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार गण्डकी सरकार पनि बजेट निर्माणको तयारीमा छ ।
यो पटक सरकारले चालु आवको भन्दा करिब २ अर्ब कम करिब ३२ अबको बजेट ल्याउने तयारी गरेको छ । तर, गण्डकीको नीति तथा योजना आयोगले ३६ अर्ब ७ करोड सम्मको बजेट ल्याउन सिलिङ तोकेको छ । आन्तरिक राजश्व घटेको र संघलेपनि चालुको भन्दा कम अनुदान दिएपछि गण्डकीले ३२ अर्बको बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला मन्त्रालय स्रोतको भनाइ छ ।
प्रकाशित मिति २०८० जेठ १७ गते बुधबार ०८:२७




