पोखरा
जेठ १२ गते संसदमा आगामी बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको गण्डकी प्रदेशले आगामी जेठ २१ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।
बजेटको सिद्धान्त र प्राथमिकतामाथि मंगलबारसम्म छलफल भएपछि २१ गतेसम्म संसद बैठक स्थगित भएको छ । २१ गतेको बैठकमै सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको हो ।
नीति तथा कार्यक्रममाथि संसदमा छलफल सकेर असार १ गते बजेट ल्याउनै पर्ने बाध्यकारी संवैधानिक व्यवस्थाका कारण २१ गते कार्यक्रम पेश गर्ने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ ।
गत जेठ १२ गते अर्थमन्त्री जीतप्रकाश अलेले संसदमा पेश गरेको बजेटको सिद्धान्त र प्राथमिकतालाई टेकेर नीति तथा कार्यक्रम आउने छ भने त्यसकै आधारमा असार १ मा बजेट आउने भएको हो ।
खुद्रे योजनामा बजेट नहाल्ने, दायित्व सिर्जना भइसकेका आयोजनालाई निरन्तरता दिने, प्रदेश प्रहरीलाई बलियो बनाउने, स्थानीय तहलाई जाने ससर्त अनुदान घटाउने लगायत बजेटको प्राथमिकता थियो ।
चालु आर्थिक वर्षमा लागि ३५ अर्ब ९० करोडको बजेट ल्याएको गण्डकी प्रदेशको आगामी बजेट भने साँगुरिने निश्चित भएको छ । अर्थमन्त्री आलेले यसअघि पनि बजेटको आकार घट्ने बताउँदै आएका थिए ।
सोमबार संघीय सरकारले ल्याएको बजेटले प्रदेशको अनुदानमा करिब ३ अर्ब कटौती गरेपछि आगामी बजेट ३२ अर्बमै सीमित हुन सक्ने अर्थमन्त्री आलेको अनुमान छ ।
चालु आर्थिक वर्षमा १६ अर्ब ५४ करोड ३२ लाख अनुदान पठाएको संघले आगामी वर्षका लागि १३ अर्ब ४५ करोड ३५ लाख पठाउने भएको छ ।
प्रकाशित मिति २०८० जेठ १८ गते बिहीबार ०७:११




