२०८३ साउन २१ गते बिहीबार

बजेटमा गण्डकीः नयाँ केही छैन, पुरानै आयोजनालाई बजेट

बजेटमा गण्डकीः नयाँ केही छैन, पुरानै आयोजनालाई बजेट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १८ गते बिहीबार ०२:१४

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय हवाइ सेवा सञ्चालन गर्ने सरकारले उद्घोष गरेको छ ।

पोखरा

धुलाम्मे पृथ्वीराजमार्गको मुग्लिन पोखरा सडक भएर आउजाउ गर्ने यात्रुले एउटै प्रश्न गर्छन, ‘उफ्फ…! कहिले सकिएला यो बाटोमा काम ।’

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा आँबुखैरेनीदेखि पोखरासम्म ८१ किलोमिटर सडक चार लेनको बन्दै छ । सडकको काम कछुवा गतिमा भइरहेको छ । म्याद सकिन १ वर्ष मात्रै बाँकी छ । तर, काम सकिनेमा आशंकै आशंका छ । एक त ठेकेदार कम्पनीको कामको गति, अर्को संघीय सरकारले विनियोजन गरेको बजेटले नै समयमै काम सकिनेमा आशंका उब्जाएको हो ।

आगामि आर्थिक वर्षको बजेटमा ५० किलोमिटर सडक विस्तार गर्न बजेट विनियोजन भएको अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिए । ५ अर्ब ४२ करोड रुपैयाँ विनियोजन भएको छ । यो सडक गण्डकी प्रदेशको लाइफलाइन हो । आगामि आर्थिक वर्षलाई ५० किलोमिटरको काम मात्रै सक्न बजेट विनियोजन भएपछि काम लम्बिने आशंका उत्पन्न भएको छ ।

कालीगण्डकी करिडोरको गैंडाकोट–राम्दी–बाग्लुङ खण्ड र बेनी जोमसोम कोरोला खण्ड गरी थप ६० किलोमिटर कालोपत्रे गरी स्तरोन्नती गरिनेछ । ‘कालीगण्डकी करिडोर निर्माणका लागि १ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ’ अर्थमन्त्री महतले भने । गोखराको ११ किलो–छेपेटार–भालुस्वाँरा–वारपाक सडक निर्माण तथा स्तरोन्नती गर्न ८० करोड रुपैयाँ विनियोजन भएको छ । सरकारले डुम्रे बेसीशहर चामे मनाङ सडकखण्ड स्तरोन्नती गर्न ३४ करोड रुपैयाँ बजेट छुट्टाएको छ ।

नारायणगढ बुटवल सडकखण्ड, मध्यपहाडी लोकमार्गको पर्वत र बाग्लुङ खण्डलाई पनि बजेट विनियोजन भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय हवाइ सेवा सञ्चालन गर्ने सरकारले उद्घोष गरेको छ । पोखरामा हवाइ इन्धन भण्डारण गृह बनाउने बजेटमा उल्लेख छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ इन्धन डिपो बनाउने पक्रिया यही वर्षदेखि सुरु भइसकेको छ ।

पर्यटकीय नगरी पोखरामा एकीकृत शहरी पूर्वाधार निर्माण गर्न बजेटको व्यवस्था गरिएको छ । बुढीगण्डकी परियोजनालाई अगाडि बढाउने सरकारको लक्ष्य छ ।

नवलपुरमा एकीकृत प्रशासनिक केन्द्र तथा सहरी पूर्वाधार निर्माण हुने भएको छ । कावासोतीमा कृषि उपज थोक बजारस्थलमा विषादी अवशेष द्रुत परिक्षण प्रयोगशाला सेवा विस्तार गरिनेछ । मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र विस्तार गर्ने उल्लेख छ ।

‘नवलपुरको धौवादी फलाम खानीको विस्तृत सर्वेक्षण, विस्तृत परियोजना प्रतिवेदन तयार र वातावरणीय सम्भाव्यता अध्ययन गरि उत्खनन् कार्य प्रारम्भ गरिनेछ’, अर्थमन्त्री महतले बजेट प्रस्तुत गर्दै भने । पर्वतको फलाम उत्खनन् प्रकृया सुरु गर्ने घोषणा गरिएको छ । पोखरादेखि मनाङसम्म पदमार्ग निर्माण गरिनेछ । गोरखा जिल्लामा जनजातीको संस्कृति र जीवनशैली झल्कने गरी जीवन्त संग्रहालय स्थापना गर्न पक्रिया अगाडि बढाइनेछ ।

पर्वत, म्याग्दी र बाग्लुङको उत्तरी भाग समेटी पर्यापर्यटन र मगर संस्कृति पर्यटन क्षेत्रको रुपमा विकास गर्न प्रोत्साहित गरिनेछ । जनकपुर, पशुपतिनाथ, स्वर्गद्वारी र मुक्तिनाथ लगायतका धार्मिक क्षेत्रलाइ समेटेर हिन्दु सर्किटका रुपमा विकास गरिने बजेटमा उल्लेख छ । गण्डकी प्रदेशको मुक्तिनाथ, देवघाट त्रिवेणीधामको संरक्षण, पूर्वाधार विकास सौन्दर्यकरण गर्न बजेट विनियोजन भएको छ । पोखरामा निर्माणधिन प्रादेशिक सरुवा रोग अस्पताललाई आगमी वर्ष सम्पन्न गरि सञ्चालनमा ल्याइनेछ ।

तनहुँको बेलचौतारामा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई आवश्यक पूर्वाधार विकास तथा उपकरणका लागि बजेट व्यवस्था गरेको अर्थमन्त्री महतले जानकारी दिए । नवलपुरको गैडाकोटमा प्राथमिक ट्रमा केयर सेन्टरको स्थापना गरि सञ्चालनमा ल्याइनेछ ।

सहलगानी खानेपानी आयोजना अन्तर्गत बाग्लुङको बाग्लुङ बजार आयोजना निर्माण सम्पन्न गर्न बजेट विनियोजन भएको छ । पोखरा रंगशाला र कर्भडहलका लागि बजेटको व्यवस्था गरिएको छ । गोरखामा निर्माणधीन सभाहल सम्पन्न गर्ने सरकारको लक्ष्य छ । बजेट भाषणमा तनहुँको भानुमा बालगृह निर्माण गर्ने उल्लेख गरिएको छ । केहि वर्षदेखि हरेक बजेट भाषणमा ढकालटारमा बालगृह निर्माणको चर्चा चल्ने गर्दछ । बालगृह निर्माणकै चरणमा छ । संसदीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत गण्डकीका १८ निर्वाचन क्षेत्रले ५ करोड रुपैयाँका दरले बजेट पाउनेछन् ।

प्रकाशित मिति २०८० जेठ १८ गते बिहीबार ०२:१४

हजुरको प्रतिक्रिया