एउटा पनि चार पांग्रे गाडी नकिन्ने मुख्यमन्त्रीको दाबी
पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आउँदो बजेटमा अनुत्पादक क्षेत्रलाई निरुत्साहित गरिने बताएका छन् । मुख्यमन्त्री पाण्डेले संघबाट बजेटको सिलिङ पनि घटेर आएको र राजश्वको लक्ष्यसमेत प्राप्त नभएकाले मितव्ययी गरिने बताएका हुन् ।
मुख्यमन्त्री पाण्डेले शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै यसपटक उत्साहित भएर बजेट विनियोजन गर्ने अवस्था नरहेको बताए । मुख्यमन्त्री पाण्डेले विकास पूर्वाधारका क्षेत्रमा होस् वा सामाजिक विकासको क्षेत्रमा अनुत्पादक क्षेत्रलाई घटाएर नभइनहुने क्षेत्रलाईमात्र प्राथमिकतामा राख्ने दाबी गरेका छन् ।
कुन कुन क्षेत्रमा बजेट घटाउन सकिन्छ भनेर खोजि गर्न मातहतका कर्मचारीलाई निर्देशन जारी गरेको मुख्यमन्त्री पाण्डेले बताए । आउँदा बजेटमा सामुदायिक तथा भवन निर्माणलाई कम प्राथमिकतामा राख्ने र चार पांग्रे गाडी एउटा पनि खरिद नगर्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ । मुख्यमन्त्री पाण्डे विकास निर्माणमा खुद्रे बजेटसमेत विनियोजन गर्ने बताए ।
संघीय सांसद विकास कोषको रकम सुरुमा अपारदर्शी पनि भएको र अहिलेसम्म पनि त्यही मोडल भन्ने धेरैको बुझाइ रहेको पाण्डेको भनाइ थियो । मुख्यमन्त्री पाण्डेले प्रदेशमा पनि निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममार्फत सांसदले योजना छान्ने कार्यक्रमका लागि बजेट विनियोजन गर्न दबाब सिर्जना भइरहेको बताए ।
प्रकाशित मिति २०८० जेठ २० गते शनिबार ११:५१




