२०८३ असोज २४ गते शनिबार

‘प्लास्टिकले वातावरणमा दीर्घकालिन समस्या निम्त्याइरहेको छ’

‘प्लास्टिकले वातावरणमा दीर्घकालिन समस्या निम्त्याइरहेको छ’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ २२ गते सोमबार १२:३०

४० माइक्रोनभन्दा पातालो प्लास्टिक प्रयोग गर्न रोक लगाएपनि नियमन नहुँदा कार्यन्वयन नभएको उनको भनाइ छ ।

पोखरा

पोखरामा विश्व वातावरण दिवसको अवसरमा भएको कार्यक्रममा वातावरण जोगाउन प्लास्टिकजन्य सामाग्रीको प्रयोग घटाउनुपर्नेमा जोड दिइएको छ । शहरी क्षेत्रमा प्लास्टिकजन्य फोहोरको समस्या व्यापक छ । ग्रामिण क्षेत्रमा पनि दिनानुदिन बढ्दै गइरहेको छ ।

वातावरण दिवसमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा प्लास्टिकजन्य फोहोरले दीर्घकालसम्म वातावरणलाई असर      पुर्‍याउने चिन्ता व्यक्त गरिएको छ ।

वातावरण जोगाएर जस्ताको तस्तै पछिल्लो पुस्तालाई हस्तानतरण गर्न चुनौति थपिएकोसमेत चर्चा गरियो । वातावरण जोगाउन रुख रोप्नुपर्नेमा जोड दिए । कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले प्रकृतिलाई जोगाउन रुख महत्वपूर्ण रहेको बताए । ‘रुखले वातावरणमा सकरात्मक प्रभाव पारिरहेको छ’, उनले भने, ‘रुख हाम्रो जीवन र जगतका लागि कति महत्वपूर्ण छ यसले दिने प्राणवायुले नै प्रस्ट छ ।’

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकीका सचिव विशाल घिमिरेले वातावरण नबिगारिकन पछिल्लो पुस्तालाई सुम्पनुपर्नेमा जोड दिए । प्लास्टिकको प्रयोग सजिलो भएपनि दीर्घकालिन असरबारे सचेत हुनुुपर्ने उनले बताए ।

‘प्लास्टिकका कारणले हाम्रो जीवनयापन एकछिनका लागि सजिलो भाको छ । तर, दीर्घकालिन रुपमा एकदम ठूलो समस्या निम्त्याइरहेको छ’, उनले भने । ४० माइक्रोनभन्दा पातालो प्लास्टिक प्रयोग गर्न रोक लगाएपनि नियमन नहुँदा कार्यन्वयन नभएको उनको भनाइ छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले वातावरण जोगाउने जिम्मेवारी हरेक नागरिकको भएको बताए । पोखरा बर्ड सोसाइटीका अध्यक्ष मनशान्त घिमिरेले रोएिका विरुवा जोगाए मात्रै उपलब्धि हुने बताए ।

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयका सदस्य बबरजंग गुरुङले जलवायु परिवर्तन विश्वकै लागि चुनौति थपिएको बताए । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले संग्रहालयको डिपिआर अनुसार नै वृक्षारोपण गरेको बताइन् । तेजपत्ता प्रजातिका २० विरुवा रोपिएको छ । रोपिएको विरुवालाई जोगाएर हुर्काउने न्यौपानले जानकारी दिइन् ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइन्छ । आज पोखराका विभिन्न संघसंस्थाले वृक्षारोपण गरेर विश्व वातावरण मनाएका छन् ।

प्रकाशित मिति २०८० जेठ २२ गते सोमबार १२:३०
हजुरको प्रतिक्रिया