पोखरा
आईतबार स्थगित भएको प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ ।
अहिले चलिरहेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई गरेको सिफारिस र फूलबारी बन्दरगाह प्रयोग गर्न लिपुलेकको नेपाली जमिन सट्टापट्टा गर्न सकिने भनेर दिएको अभिव्यक्तिबारे प्रष्टीकरण दिएका छन् ।
नागरिकता विधेयक र प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा विरोध जनाउँदै विपक्षी दलहरु एमाले, रास्वपा र राप्रपाले बैठक चल्न नदिएपछि आईतबारको बैठक स्थगित भएको थियो । नागरिकता विधेयक सच्याउनुपर्ने र जमिन साटफेर गर्ने अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने विपक्षीहरूको अडान छ ।
प्रधानमन्त्री दाहालले आफूले सीमाबारे कहीँ पनि विकल्प नदिएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सीमाबारे विकल्प यो हुन्छ र यसमा जाऊँ भनेर प्रस्तावित नगरेको स्पष्ट पारेका हुन् । उनले सिधा तथ्य भएको कुरालाई नघुमाउन पनि अनुरोध गरे । उनले आफूले लिपुलेक, लिम्पियाधुरा र कालापानी साट्ने प्रस्ताव भारतीय पक्षसँग नराखेको दाबी गरे ।
उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको अध्यादेश र शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेलामा ल्याएको विधेयकभन्दा हाल प्रमाणीकरण विधेयक फरक नभएको बताएका छन् । विपक्षी दलका सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रचण्डले नागरिकता विधेयकलाई अनावश्यक रूपमा विवादित बनाएको बताए ।
प्रकाशित मिति २०८० जेठ २२ गते सोमबार ०२:११




