पोखरा
नेकपा एमाले गण्डकी प्रदेशको प्रमुख सचेतकमा गोविन्दबहादुर नेपाली चयन भएका छन् । एमाले संसदीय दलका नेता खगराज अधिकारीले सांसद नेपालीलाई सोमबार प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
यसअघि पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले विश्वासको मत लिनु अघिल्लो दिन पुस २८ गते सांसद रोशन गाहामगर प्रमुख सचेतक नियुक्त भएका थिए ।
गाहामगर पनि खगराज नेतृत्वको सरकारमा कानुन तथा सञ्चारमन्त्री नियुक्त भएपछि नेपालीलाई प्रमुख सचेतक बनाउने योजना भए पनि अधिकारी रोकिएका थिए । अधिकारीले सोमबारमात्र नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।
यसअघि गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदा राजनीतिक सल्लाहकार थिए । नेपाली एमाले केन्द्रीय सदस्यसमेत हुन् ।
गण्डकी प्रदेशको सचेतकको जिम्मेवारी सांसद देवका पहारीले प्राप्त गरेकी छन् । कास्कीकी सांसद पहारीलाई पनि अधिकारीले सोमबार नै मनोनयन गरेका हुन् । दुवै सांसद समानुपातिक प्रणालीमार्फत आएका छन् ।
प्रमुख सचेतकले दलको धारणा राख्ने, संसदमा ह्विप लगाउने काम गर्छन् भने गाडीसहितको विशेष सुविधासमेत पाउँछन् ।





