पोखरा
केन्द्र सरकारले आगामी वर्षको बजेट जेठ १५ गते ल्याइसकेको छ । असार १ गते प्रदेश सरकारको बजेट आउँदैछ । संघ, प्रदेश र स्थानीय तहले तोकिएको समयभित्र नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक तथा कानूनी व्यवस्था छ ।
बजेट ल्याउने तयारीमा स्थानीय तहहरु पनि जुटेका छन् । स्थानीय सरकारले असार मसान्तभित्र बजेट ल्याइसक्नुपर्छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले स्थानीय तहको बजेट सम्बन्धित नगर तथा गाउँ सभामा १० असारभित्र पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।
बजेट निर्माणकै तयारीमा रहेका बेलामा पोखरा महानगरपालिका वडा नम्बर ५ ले बजेट निर्माणको लागि सुझाव लिएको छ । वडाले योजना छनोट तथा बजेट निर्माणका लागि बुधबार युवाहरुको सुझाव लिएको हो । ‘बजेट निर्माणमा युवाहरुको दृष्टिकोण’ कार्यक्रम गरी सुझाव संकलन गरिएको हो ।
वडा ५ का वडाअध्यक्ष विष्णुप्रसाद बरालले युवाहरुको सहभागिता विना आर्थिक समृद्धि सम्भव नभएको बताए । विकास निर्माणमा युवाहरुको भूमिका र सहभागिता महत्वपुर्ण हुने उनको भनाइ छ । स्वेदशमै रोजगारीको सिर्जना गरेर युवाहरुलाई विदेश पलायन रोक्नतर्फ तीन वटै सरकारले विशेष ध्यान दिनुपर्नेमा बरालको जोड छ ।
समग्र वडाको विकासका लागि युवाकै आवश्यकता रहने र यसबारे युवाको धारणा बुझ्न कार्यक्रमको आयोजना गरिएको वडाअध्यक्ष बरालले बताए । कार्यक्रममा सहभागी भएका युवाहरुले वडाको भौगोलिक अवस्था अनुसार विकासका लागि आ—आफ्नो सुझाव प्रस्तुत गरेका थिए । सडक सुरक्षा, सिसी क्यामेरा जडान, आइटीको पहुँच, रोजगारलाई प्राथमकिता, कृषि क्षेत्रमा गर्नुपर्ने भावी योजना, खेलकुद लगायतमा सुझाव दिएका थिए ।
वडाले योजना तथा बजेटसँग सम्वन्धित रहेर सरोकारवालाहरुसँग छुट्टाछुट्टै छलफल तथा सुझाव संकलन गरिरहेको छ । कार्यक्रममा वडासदस्य हरिमाया विक र कल्पना भुवाजी क्षेत्रीले वडाका गतिविधिका बारेमा बोलेका थिए ।
प्रकाशित मिति २०८० जेठ २५ गते बिहीबार ०८:००




