२०८३ साउन २१ गते बिहीबार

साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ २५ गते बिहीबार ०४:४३

नेपाल टिमले ३२ जेठमा फिलिपिन्ससँग उसकै मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

काठमाडौं

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले दक्षिण एसियाली फुटबल फेडेरेसन साफ च्याम्पियनसिपको १४औं संस्करणका लागि २३ सदस्यीय नेपाल टिमको घोषणा गरेका छन् ।

प्रतियोगिता सुरु हुनु २ साताअघि घोषणा गरिएको टिममा डिफेण्डरहरु विमल पाण्डे र सीमान्ता थापा तथा मिडफिल्डर लाकेन लिम्बु नयाँ अनुहार हुन् । विमल त्रिभुवन आर्मी, सीमान्त जावलाखेल युथ र लाकेन थ्रीस्टार क्लबका खेलाडी हुन् ।

साफ तयारीका लागि प्रशिक्षक एनेसले १७ जेठमा ३० जना खेलाडीलाई प्रारम्भिक रणनीतिक तयारीका लागि प्रशिक्षणमा बोलाएका थिए । तीमध्येबाट आशिष गुरुङ, विक्रम लामा, एन्जल महर्जन, सुदीप गुरुङ, विशाल तामाङ, जिलेस्पीजंग कार्की र दिनेश हेन्जन गरी ७ जनालाई कटौती गरिएको हो ।

६ असारदेखि भारतको बैंगलुरुमा सुरु हुने साफ च्याम्पियनसिपमा नेपाली टिम भारत, कुवेत र पाकिस्तानसम्मिलित कठिन समूहमा परेको छ ।

नेपाल टिमले ३२ जेठमा फिलिपिन्ससँग उसकै मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ । सोही तयारीपछि नेपाल टिम उतैबाट बैंगलुरु प्रस्थान गर्नेछ ।

समूह ए मा रहेको नेपालले ६ असारमा कुवेत, ९ असारमा आयोजक टिम भारत र १२ असारमा पाकिस्तानसँग खेल्नेछ । यसपल्ट साफ च्याम्पियनसिपमा मध्यपूर्वका लेवनान र कुवेतलाई पनि आमन्त्रण गरिएको छ । प्रतियोगिताको समूह बीमा लेवनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

प्रकाशित मिति २०८० जेठ २५ गते बिहीबार ०४:४३

हजुरको प्रतिक्रिया