पोखरा
गण्डकी प्रदेशस्तरीय पुरुष बास्केटबल प्रतियोगिता पोखरामा सुरू भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा कास्की जिल्ला बास्केटबल संघको व्यवस्थापनमा बिहीबारदेखि प्रतियोगिता सुरू भएको हो । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन ३ खेल भएको कास्की बास्केटबल संघका कार्यसमिति सदस्य विष्णु गुरुङले जानकारी दिए ।
उद्घाटन खेलमा लमजुङले गोर्खालाई ५६—१५ को स्कोरले पराजित गरेको छ । अर्को खेलमा पर्वतले तनहुँलाई ६८–४३ ले पराजित गर्दा म्याग्दीले स्याङजालाई ७३–३० को स्कोरले पराजित गरेको छ । कास्की, तनहुँ, गोर्खा, लमजुङ, पर्वत, स्याङजा, म्याग्दी गरी ७ जिल्लाको खेलमा सहभागिता छ ।गण्डकी प्रदेशका पूर्वयूवा तथा खेलकुद मन्त्री एवं सांसद राजीव गुरुङले खेलको उद्घाटन गरेका थिए ।
२७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा उपाधि विजेता टिमले नगद ६० हजार र उपविजेताले नगद ४० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । आजको खेलमा पर्वत र स्याङजा, म्याग्दी र तनहुँ, कास्की र गोर्खा भिड्नेछन् ।
प्रकाशित मिति २०८० जेठ २६ गते शुक्रबार ०८:२३




