पोखरा
तनहुँ र स्याङजामा पर्ने मिलेनियम ट्रेकको पुनः प्रवद्र्धन एवम् बजारीकरण अभियान थालिएको छ । शुक्रबारदेखि पदयात्रामा निस्किएको टोलीले आइतबार पदमार्ग क्षेत्र अन्तर्गत पुतलीबजार नगरपालिका वडा नं ९ कोल्मा, काल्खु एवम् शुक्लागण्डकी नगरापलिका वडा नं १२ विसौनामा छलफल गरेको छ ।
मिलेनियम ट्रेक व्यवस्थापन समितिको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहआयोजना एवम् प्रवद्र्धनमा पर्यटन सम्बद्ध विभिन्न क्षेत्रका प्रतिनिधि, पर्यटक गाइड, सञ्चारकर्मी लगायतको २३ सदस्यीय टोली पदयात्रामा छन् । स्थानीयले मिलिनिय ट्रेक क्षेत्रको विकासका लागि आफूहरू लागिरहेको बताउँदै त्यसका लागि मिलिनियम ट्रेक व्यवस्थापन समिति, स्थानीय सरकार एवम् सरोकारवालाको साथ र सहयोग आवश्यक भएको बताएका छन् । पुतलीबजार नगरपालिका वडा नं ९ का वडा अध्यक्ष लिलप्रसाद गुरुङले यस क्षेत्रको प्रवद्र्धनमा मिलेनियम ट्रेक व्यवस्थापन समितिले गरेको योगदान प्रशंसनीय भएको बताए ।
उनले स्थानीय सरकारले मिलिनिय ट्रेकको प्रवद्र्धन एवम् पूर्वाधार निर्माणमा जोड दिएको बताए । कोल्मामा २०७५ सालदेखि होमस्टे विधिवत् दर्ता गरी सञ्चालनमा आएपनि मिलिनियम ट्रेकका्े नक्सामा दर्ता हुन नसकेको बताए । कोल्मा बराह माविका प्रमुख कृष्णबहादुर गुरुङले होमस्टे मार्फत लुकेर रहेका संस्कार एवम् संसकृतिको जगेर्ना गर्न खोजिएको बताए । मिलिनिय ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले पर्यटन मार्फत् यस क्षेत्रका स्थानीयको आयआर्जनमा टेवा पुगोस् भन्ने हेतुले पदमार्ग क्षेत्रको प्रवद्र्धनलाई जोड दिइएको बताए ।
सहप्राध्यापक डा. रामजीप्रसाद पोखरेल, टान गण्डकीका सदस्य दीपकप्रसाद सापकोटा, पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरे लगायतले मिलिनियम ट्रेकमा अधिकतम पर्यटक ल्याउने गरी लाग्न आग्रह गरेका थिए । प्रवद्र्धन टोलीलाई नमोबुद्ध आमा समूहले गुरुङ जातिको प्राचीन एवम् मौलिक झोरा नृत्यबाट स्वागत गरिएको थियो । तनहुँ दुलेगौंडाबाट करिब १५ किलोमिटर पश्चिम लागेपछि शुक्ला गण्डकी नगरपालिका वडा नं १२ स्थित रमणीय घडेरी गाउँ पुगिन्छ । गाउँको पुछारमा सादी खोला पर्दछ जसले तनहुँ र स्याङ्जा जिल्लालाई छुट्याएको छ भने स्याङ्जातर्फको गाउँलाई सादीखोला गाउँ भनिन्छ ।
घरेडी गाउँको पुछारमा एउटा दुलोबाट छिरेपछि भित्र अचम्मको खुला ठाउँ भएको गुफा पुगिन्छ । स्थानीयवासीका अनुसार करिब १ सय वर्षअघि पाखामा चरिरहेको बाख्रा एक्कासी हराएपछि बाख्रा खोज्ने क्रममा गुफा फेला परेको थियो ।सन् २००० मा विदेशी भूगर्भविद्सहितको टोलीले गुफाको थप अध्ययन अनुसन्धान गरेपछि गुफाको नाम ‘मिलिनियम गुफा’ राखी प्रचारप्रसार गरिएको महासचिव गुरुङले बताए । गुरुङका अनुसार तनहुँको दुलेगौडाबाट स्याङ्जाको रामबाच्छा जोड्ने मिलिनियम ट्रेक सुरुआत गरिएको हो ।
प्रकाशित मिति २०८० जेठ २९ गते सोमबार ०९:०५




