पोखरा
पोखरामा आगामी जेठ ३१ र ३२ गते विज्ञान प्रविधि महोत्सव हुने भएको छ । हिमालयन साइन्स फाउन्डेसन र विज्ञान शिक्षक समाजको सह—आयोजनामा गण्डकी प्रदेश स्तरीय विज्ञान प्रविधि महोत्सव प्रदर्शनी केन्द्रमा हुन लागेको हो ।
विद्यालयस्तरदेखि नै विद्यार्थीलाई खोज तथा अनुसन्धानमा अभिप्रेरित गर्ने उद्देश्यले विज्ञान प्रविधि महोत्सवको आयोजना गरिएको हिमालय साइन्स फाउन्डेनका अध्यक्ष आतंक बस्नेतले जानकारी गराए । उनका अनुसार महोत्सवको अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लाका विद्यालयबाट आएका विद्यार्र्थी महोत्सवमा सहभागी हुनेछन् । महोत्सवमा मानव जीवनका विभिन्न समस्याहरुलाई वैज्ञानिक प्रविधिद्वारा समाधानका उपायको खोजी गरिने छ ।
२०७६ बाट उक्त महोत्सवको आयोजना गरिएता पनि कोरोना महामारीले निरन्तरतामा समस्या आएको बस्नेतले बताए । नेपालका वैज्ञानिकहरुलाई संरक्षण गर्न नसक्दा देशले दक्ष वैज्ञानिकहरु गुमाइरहेको भनाइ उनको छ । विज्ञान विषयलाई पढाउने तौरतरिकामा फेरबदल गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।
प्रकाशित मिति २०८० जेठ २९ गते सोमबार ०९:२२




