२०८३ असोज २४ गते शनिबार

दुई सिमकार्डको प्रयोगले श्रीमानबाटै हत्या

दुई सिमकार्डको प्रयोगले श्रीमानबाटै हत्या

विनोद ढुंगाना

@Public 4K Tv

२०८० जेठ ३१ गते बुधबार १०:०१

रंगिलाको हत्याको आरोपमा पक्राउ परेका छन् उनकै खसम मनोज ।

नयाँ वर्षको दिन प्रेम विहे गरेका थिए

पोखरा

तनहुँको व्यास नगरपालिका–१२ लामिडाँडाकी २२ वर्षीया रंगिला भुजेलको सामाजिक सञ्जालमा एक अपरिचित युवकसँग भेट भयो ।

सामाजिक सञ्जालमा भेटिएका भानु नगरपालिका–५ मैबलका २१ वर्षीय मनोज विष्टसँग दैनिक गफगाफ हुन थाल्यो । सामाजिक सञ्जालको चिनजान विस्तारै प्रेममा परिणत भयो । भेटघाट बाक्लिदै गयो, प्रेम झ्यांगिदै ।

करिब ७ महिनाको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न दुवै राजी भए । योजना बनाए, नयाँ वर्षको दिन विहे गर्ने । बैशाख १ गते प्रेमलाई जीवनसारथीको सम्बन्धमा परिणत गरे । कसम खाए, ‘सँगै जिउने सँगै मर्ने ।’ मनोज रंगिलाको खसम भए । मार्केटिङको काम गर्ने उनले विहेपछि श्रीमतिलाई दमौली डेरामा राखे ।

मंगलबार व्यास नगरपालिका–५ चिहानडाँडाको सुवर्ण मार्गमा दुर्गन्ध फैलिरहेको थियो । डुङडुङ्ती हन्हाउन थालेपछि शंकास्पद ठानेर स्थानीयले जनप्रतिनिधिलाई खबर गरे, जनप्रतिनिधिले प्रहरीलाई ।

प्रहरीले खोजतलास गर्दा नालीको पानी निकासका लागि राखेको ह्युमपाइपमा महिलाको शव फेला प¥यो । बोराभित्र राखिएको क्षतविक्षत अवस्थाको शवमा किरा परेका थियो । वेवारिसे शव दमौली अस्पतालको शवगृहमा राखेर प्रहरीले अनुसन्धान थाल्यो ।

मंगलबार विहान मात्रै मनबहादुर भुजेलले फोटो सहित प्रहरीमा छोरी हराएको उजुरी दिएका थिए । मनबहादुरको उजुरीमा जेठ २४ गतेदेखि छोरी वेपत्ता भएको उल्लेख थियो ।

मनबहादुरले दिएको फोटोसँग शवको हुलिया मेल खाएपछि प्रहरीले मनबहादुरलाई बोलायो । उनले छोरीको शवको पहिचान गरे । त्यो शव थियो, उनै रंगिला भुजेलको । जसले २ महिना अगाडि मात्रै प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको थिइन् ।

शव भेटिएपछि प्रहरीले हत्याको आशंकामा अनुसन्धान थालिसकेको थियो । प्रहरी मंगलबार राती नै दमौलीको तरकारी लाइनबाट हत्यारा पक्राउ गर्न सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार दिउँसो हत्यारा सार्वजनिक गरेको छ । रंगिलाको हत्याको आरोपमा पक्राउ परेका छन् उनकै खसम मनोज । ‘सँगै मर्ने, सँगै बाँच्ने’, कसम खाएका मनोजले हत्या स्विकारेको तनहुँका प्रहरी प्रमुख एसपी अवदेश विष्टले बताए ।

एसपी विष्टका अनुसार मनोजले रंगिलाको हत्या शुक्रबार डेरामै गरेका थिए । ‘डेरामा हत्या गरेर ह्युमपाइपमा शव व्यवस्थापन गरेको पाइयो’, उनले भने ।

‘रंगिलाले २ वटा सिम प्रयोग गरेकाले मनमुटाव सिर्जन भइ मनोजले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, एसपी विष्टले भने ।

मनोज र रंगिलाबीच जेठ २६ गते दिउँसो झगडा भएको थियो । झगडापछि मनोजले रंगिलाको हत्या गरेको वयान दिएका छन् ।

‘श्रीमतीको हत्या गरी बोरामा शव हालेर आफैले बोकेर चिहानडाँडा पुगेकोप्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले शवलाई कल्भर्टमा हालेर डेरा फर्किएका थिए’, उनले भने ।

पक्राउ परेका मनोजलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न ५ दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।

शवको पोष्टमार्टम रिपोर्ट आएपछि थप रहस्य खुल्ने प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी भइरहेको एसपी विष्टले बताए ।

 

तस्बिर सौजन्यः कृष्ण न्यौपाने

प्रकाशित मिति २०८० जेठ ३१ गते बुधबार १०:०१

हजुरको प्रतिक्रिया