२०८३ कात्तिक ११ गते मंगलबार

कालाबाङ घरेडीमा ‘नेटा’को टोली

कालाबाङ घरेडीमा ‘नेटा’को टोली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ ३२ गते बिहीबार ०२:३०

पोखरा । घरबास कार्यक्रमअन्तर्गत नेपाल राष्ट्रिय पर्यटन व्यवसायी समिति (नेटा) गण्डकी र कास्की कमिटीको टोली कालाबाङ घरेडी सामुदायिक होमस्टे पुगेको छ । नेकपा एमालेनिकट पर्यटन व्यवसायीको संगठनको टोली ग्रामीण पर्यटन प्रवर्द्धनअन्तर्गत...

पोखरा । घरबास कार्यक्रमअन्तर्गत नेपाल राष्ट्रिय पर्यटन व्यवसायी समिति (नेटा) गण्डकी र कास्की कमिटीको टोली कालाबाङ घरेडी सामुदायिक होमस्टे पुगेको छ । नेकपा एमालेनिकट पर्यटन व्यवसायीको संगठनको टोली ग्रामीण पर्यटन प्रवर्द्धनअन्तर्गत बुधबार पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित पुगेको हो ।

होमस्टे सञ्चालकसँग समितिले परिचयात्मक कार्यक्रम गर्दै पर्यटन आवगमनको अवस्थाबारे चासो राखेको थियो । कार्यक्रममा बोल्दै होमस्टे संचालक समितिका सल्लाहकार प्रकाशचन्द्र गुरूङले ग्रामीण पर्यटनबारे बुझ्न चाहने विद्यार्थी र कोलाहलबाट टाढा जान चाहनेका लागि कालाबाङ उत्कृष्ट गन्तव्य भएको बताए । ‘हाम्रो समाज घरदेखि १० मिनेट माथि उक्लिएपछि अन्नपूर्ण रेञ्जका हिमाल राम्रो देखिन्छ । बाटो कालोपत्रे आइसकेको छ र खानेपानीको पनि चार वटा आयोजना भएकाले समस्या छैन,’ उनले भने ।

संगठनका प्रदेश अध्यक्ष चिरञ्जीवी पोखरेलले पोखरा वरपर धेरै सम्भावना बोकेका ठाउँ भएको र कतिलाई थाहा नहुने भएकाले त्यस्ता ठाउँको प्रवर्द्धन आवश्यक रहेको बताए । उनले संगठनका कार्यक्रम फरकफरक ठाउँमा गर्ने र ग्रामीण पर्यटन प्रवर्द्धनमा योगदान गर्ने बताए ।

संगठनका केन्द्रीय उपाध्यक्ष केदारनाथ शर्माले अन्य प्रदेशभन्दा पहिला नै आफूहरुले संगठन विस्तार गरेको सुनाए । अन्य जिल्लाको संगठन विस्तार पनि अब तीव्र पार्ने उनले बताए ।

कालाबाङ गाउँभन्दा माथि रहेको डाँडामा होमस्टे सञ्चालक समितिको अगुवाइमा १४ फिट अग्लो बुद्धको मूर्ति निर्माण हुँदैछ । नेटाको टोलीले त्यहाँको पूर्वाधार निर्माणको अवस्थाबारे पनि चासो राख्दै अवलोकन गरेको थियो । संगठनकी कास्की जिल्ला कमिटी अध्यक्ष पार्वती पाण्डेले बुद्धको मूर्ति छिटो बनाउन सके कालाबाङमा पर्यटक भुल्ने माध्यम हुने बताइन् ।

प्रदेश कमिटी र जिल्ला कमिटीमा आबद्ध २८ जनाको टोली कालाबाङ घरेडीमा होमस्टेमा एक रात बिताएर बिहीबार पोखरा फर्किएको छ ।

कालाबाङ पोखरादेखि आधा घण्टामा पुगिन्छ । छरिएर रहेको गाउँका डेढ सय घरमध्ये १९ वटा घरमा होमस्टे छन् । ती घरमा ९० जनासम्म पर्यटक राख्न सकिने होमस्टे सञ्चालक समिति अध्यक्ष यामबहादुर गुरूङले जानकारी दिए । मासिक एक हजार जनासम्म पाहुना आउने गरेको उनले बताए ।

प्रकाशित मिति २०८० जेठ ३२ गते बिहीबार ०२:३०
हजुरको प्रतिक्रिया