२०८३ साउन २१ गते बिहीबार

पोखरामा पहिलो पटक धुमधाम भूमे (तस्वीरसहित)

पोखरामा पहिलो पटक धुमधाम भूमे (तस्वीरसहित)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार १ गते शुक्रबार ०२:२७

‘गाउँमा नाचिराखेका हामी यति वर्षपछि पोखरामा नाच्न पाउँदा एकदमै खुसी लागेको छ । यहाँ नाच्न नपाए पनि हाम्रो दिमागमाचाहिँ थियो,’ पुनले भनिन्, ‘आज २१ वर्षपछि फेरि पनि जानी नजानी नाच्न पाउँदा गाउँमै पुगेकोजस्तो लागिराखेको छ ।’

पोखरा

रोल्पाबाट ६० को दशकमै पोखरा आएकी उन्नति बुढामगरलाई आफ्नो जन्म ठाउँमा असारको पहिलो हप्ता भूमे राम (मेला) धुमधामले लाग्छ भन्ने थाहा थियो ।

सानै उमेरमा पोखरा आएकाले भूमिको पूजा कसरी गरिन्छ र कसरी मनाइन्छ भन्ने थाहा थिएन ।

पढाइ जारी थियो, लामो बिदा लिएर गाउँमै गएर भूमे मेलामा मनाउन जाने अवसर जुरेकै थिएन ।

यसपालि रुकुमेली एकता समाजले पोखरामा पहिलोपटक भूमे पूजा आयोजना ग¥यो । पूजामा उन्नति आफ्ना साथीहरुसँग सहभागी हुन पाउँदा दंग थिइन् ।

‘पहिलेपहिले युट्युबमा हेर्दा खुब रमाइलो लाग्थ्यो, कहिले मनाउन पाइएला भन्ने लाग्थ्यो,’ उन्नतिले खुसी बाँडिन, ‘युट्युबमा हेरेको र अहिले नाच्दा अलि फरक हुने रहेछ । नाच्न आउँदैन सिक्दैछौं, अब अर्को पटकदेखि रमाइलै होला !’

उन्नतिसँगै नमुना र प्रतिमा बुढाले पनि पोखरामै पहिलो पटक १८ मगरात क्षेत्रमा प्रचलित भूमे मेला मनाउने मौका पाए । मध्यान्हको चर्को घामको पनि प्रवाह नगरी उनीहरुले भूमिलाई पुज्दै नाचे ।

रुकुमकी बेनीमाया पुनमगर पछि २१ वर्षपछि भूमे नाच नाच्दा पाउँदै निकै खुसी देखिइन् ।

कामको सिलसिलामा २ दशकअघि पोखरा आएकी उनी त्यसपछि प्रत्यक्ष भूमे नाच नाच्ने मौका पाएकी थिइनन् ।

पुनले पोखरामा पनि भूमे नाच नाच्न सुरु भएसँगै संस्कृति पुस्तान्तरण हुने विश्वास व्यक्त गरिन् ।

‘कति नाच्न जानेका मान्छेहरु मरेर गइसके, अहिलेको पुस्तालाई कसले सिकाउने ? गाउँको जस्तो नहोला । तर, सहरबजारमै भए पनि सुरु गरेपछि उनीहरुले पनि हाम्रो संस्कृति बुझ्न पाउँछन्,’ उनले भनिन् ।

प्राकृतिक विपद्बाट कुनै क्षति नहोस् भन्ने कामनासहित रोल्पा, रुकुम क्षेत्रका मगर समुदायको पर्व भनिए पनि त्यहाँ बसोबास गर्ने सबै समुदायले मनाउने गर्दछन् ।

असार १ गते मुख्य रुपमा मनाइने भए पनि जेठ पूर्णिमादेखि नै स्थानीय भाषामा ‘नोकोबांगे’ नाचसहित भूमि पूजा गरिन्छ ।

जेठ पूर्णिमाको अवसरमा लेक चढेर पूजाका लागि बुकी फूल ल्याउने गरिन्छ ।

‘नोकोबांगे फुकाइसकेपछि असारको १ गते बली दिएर भूमिको पूजा गर्छौं । बली दिएर पूजा गर्ने भएकाले हाम्रोतिर बल पूजा पनि भन्छन्,’ रुकुमेली एकता समाजका अध्यक्ष लयनकुमार सुनार ‘दिपेश’ भन्छन्, ‘योबेला गाउँमा परदेशिएका सबै गाउँले जम्मा हुँदा ठूलो मेला लाग्छ, वर्षौंपछि भेट हुने एउटा मौका मिल्छ ।’

रोल्पा पोखरा सम्पर्क समाजका अध्यक्ष पूर्णबहादुर पुनमगरले जीवन भूमिबाटै सुरु हुने भएकाले भूमि नै देवता भएको सुनाए ।

‘हामी प्रकृति पूजक भनेर चिनिन्छौं । हाम्रो संस्कृति नै यही हो, ‘यही धर्तिमा पनि जन्मिएर यही धर्तिकै पूजा गर्न पाउँदा खुसी लागेको छ ।’

आयोजक रुकुमेली एकता समाजले पोखरामा भूमे पूजालाई बर्सेनि निरन्तरता दिने बताएको छ ।

यसै वर्षदेखि पोखरामा सुरु भएको भूमेमा पोखरा आसपासका जिल्ला तनहुँ, स्याङ्जामा बसोबार गर्ने रोल्पाली तथा रुकुमेली पनि सहभागी भएका छन् ।

भूमे पर्वको अवसरमा लुम्बिनी प्रदेशले रुकुम पूर्व र रोल्पा जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

तस्वीरहरुः विकास मगर/पब्लिक टिभी

 

प्रकाशित मिति २०८० असार १ गते शुक्रबार ०२:२७
हजुरको प्रतिक्रिया