२०८३ असोज २४ गते शनिबार

साँघुरो संसद, कोचाकोच सांसद (भिडियो)

साँघुरो संसद, कोचाकोच सांसद (भिडियो)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ३ गते आइतबार ११:११

कोचाकोच भएर बस्नुपर्ने सांसदहरुको समस्या भयो । कसैले संसद भवनभित्र पसेरै संसदको प्रत्यक्ष अनुभव गर्न चाहेमा त्यो पनि नपाउनेसम्मको अवस्था छ ।

पोखरा । नदीपुरस्थित गण्डकी प्रदेश सभा भवन यति साँघुरो छ कि ६० जना सांसद कुर्सीमा बसेपछि एउटा नउठी अर्को निस्किनै मुस्किल पर्छ । कोचाकोच भएर बस्नुपर्ने सांसदहरुको समस्या भयो । कसैले संसद भवनभित्र पसेरै संसदको प्रत्यक्ष अनुभव गर्न चाहेमा त्यो पनि नपाउनेसम्मको अवस्था छ ।

संसदको पछाडिपट्टिको भागमा दर्शकदीर्घा छ । त्यहाँ पत्रकार १७ जनासम्म, सांसदका स्वकीय सचिवसहित अन्य दर्शक २० जनासम्म अट्छन् ।

नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने दिन संसदको विशेष दिन हुन् । यी दुई दिन प्रदेश सभामा प्रदेश सरकारका कर्मचारी, सुरक्षा संयन्त्रका उच्च पदस्थ अधिकारी, राजनीतिक दलका नेता, पत्रकार, मन्त्री र सांसदका स्वीकय र शुभेच्छुकको बाक्लो उपस्थिति रहन्छ । तर, यसरी पुगेकामध्ये धेरैले संसद भवनभित्र पसेर संसदीय गतिविधि हेर्न पाउँदैनन् । दर्शकदीर्घा र पत्रकार दुवैतर्फको सिट क्षमता भरिएपछि मर्यादापालकले प्रवेश दिँदैनन् । प्रदेश सरकारले शुक्रबार संसदमा आगामी आर्थिक वर्षको बजेट ल्याउँदा पनि स्वकीय सचिव, पत्रकार बाहिरै बस्नुपर्‍यो ।

प्रदेश सभाको मिडिया सेन्टर र विधायन समितिमा प्रत्यक्ष प्रसारण हेर्ने व्यवस्था छ । तर, त्यहाँ पनि बिजुली आपूर्ति नियमित नहुँदा प्रसार बन्द भइरहन्छ । प्रदेश सरकार र सभा स्थापनाको पाँच वर्ष पुरा भइसकेको छ । तर, प्रदेश सभाको अहिलेसम्म आफ्नै भवन छैन । पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले त आफू संसदको सदस्य हुँदा र मुख्यमन्त्री हुँदा पनि संसद भवन बनाउन नसकेको भन्दै गत माघ २२ गते प्रदेश सभाको स्थापना दिवसको कार्यक्रममै ग्लानीबोध गरेका थिए ।

आगामी आर्थिक वर्षदेखि प्रदेश सभा भवन निर्माण सुरु गर्ने भनेर प्रदेश सरकारले शुक्रबार प्रस्तुत गरेको बजेटमा ५ करोड रुपैयाँ बजेट छुट्याइएको छ । कहाँ बनाउने र कहिलेसम्म बन्छ भन्ने टुंगो भने छैन । हाल प्रदेश सभा बनाइएको भवन स्थानीय तथा नगर विकास प्रशिक्षण केन्द्रले बनाएको थियो । २०४९ साल असोज १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेको यो भवन प्रदेश संरचना स्थापना पछि प्रदेश सभा बनेको थियो । प्रदेश सभा बैठकका गतिविधि घरमै बसेर पनि हेर्न सकिन्छ । संसद सचिवालयले प्रोभिन्स एसेम्ब्ली गण्डकी प्रोभिन्स पोखरामा हेर्न सकिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति २०८० असार ३ गते आइतबार ११:११
हजुरको प्रतिक्रिया