२०८३ असोज २४ गते शनिबार

जिम्बाब्वेसँग नेपाल ८ विकेटले पराजित

जिम्बाब्वेसँग नेपाल ८ विकेटले पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ३ गते आइतबार ०८:४५

कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी साझेदारीका बाबजुद नेपाल ८ विकेटले पराजित भएको हो ।

पोखरा । नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा घरेलु टोली जिम्बाब्वेसँग हार व्यहोरेको छ ।

हरारे स्पोर्टस् क्लबमा आइतबार भएको खेलमा कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी साझेदारीका बाबजुद नेपाल ८ विकेटले पराजित भएको हो ।

नेपालले दिएको २ सय ९१ रनको लक्ष्य जिम्बावेले ४४ दशमलब १ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

जिम्बाब्वेको जितमा कप्तानसमेत रहेका ओपनर क्रेग ईब्रानले अविजित १ सय २१ रनको शतकीय इनिङ्स खेले ।

उनले १ सय २८ बलमा १५ चौका र १ छक्काको सहयोगमा १ सय २१ रन बनाएका हुन् । ३७ वर्षिय क्रेगले आफ्नो चौथो शतक १ सय ११ बलमा पूरा गरेका थिए ।

तेस्रो विकेटका लागि क्रगले सेन विलियम्ससँग मिलेर १ सय २५ बलमा १ सय ६४ रनको विजयी साझेदारी गरे । सेन विलियम्सले ७० बलमा १३ चौका र १ छक्काको सहयोगमा अविजित १ सय २ रनको शतकीय इनिङ्स खेले ।

विस्ली माधिवेरीले ३८ बलमा २ चौकाको सहयोगमा ३२ रन बनाए । ओपनर जोयलर्ड गुम्बिले २९ बलमा ५ चौकाको सहयोगमा २५ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र गुलसन झाले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनाएको हो । नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय इनिङ्स खेले । कुशलले ९५ बलमा १३ चौका र २ छक्काको सहयोगमा ९९ रन बनाए । शेखले १ सय बलमा ७ चौकाको सहयोगमा ६६ रन बनाए ।

कुशल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध पहिलो शतक बनाउन मात्र १ रनले चुकेका थिए । उनी विलिङ्टन मासाकाट्जाको बलमा बोल्ड आउट भएका थिए ।

पहिलो विकेटका लागि कुशल र आसिफले ३१ दशमलब ५ ओभरमा १ सय ७१ रनको सानदार शतकीय साझेदारी गर्दै सानदार सुरुआत दिलाएका थिए । यो नेपालबाट ओडिआई कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो ।

यसअघि ओडिआईमा उच्च साझेदारी गत फेब्रुअरीमा नामिबियाविरुद्ध भएको थियो । नामिबियाविरुद्धको खेलमा दोस्रो विकेटका ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको शतकीय साझेदारी गरेका थिए ।

अर्का ओपनर शेख मासाकाट्जाको नै बलमा रायन बर्लबाट क्याच आउट भए । तेस्रो विकेटका लागि कुशल मल्ल र कप्तान रोहित पौडेलले ७२ रनको महत्वपुर्ण साझेदारी गरे । कप्तान पौडेल २९ बलमा ५ चौकाको सहयोगमा ३१ रन बनाउदै आउट भए ।

तेस्रो नम्बरमा ब्याटिङमा आएका मल्लले ४२ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४१ रन बनाए ।

गुलसन झाले १३ बलमा १३ रन बनाए । आरिफ शेखले ११ बलमा १० रन बनाएर आउट भए । नेपालले अन्तिम ५ ओभरमा ३२ रन बनाउँदा ४ विकेट गुमाएको थियो ।

जिम्बाब्वेका लागि रिचार्ड नगर्भाले ४ र विलिङ्टन मासाकाट्जाले २ विकेट लिए । ब्लेसिङ्ग मुजवानी र टेन्डी चताराले समान १/१ विकेट आफ्नो नाम गरे ।

जितसँगै जिम्बावे २ अंकका साथ समूह ए को शीर्ष स्थानमा छ । हारसँगै नेपाल समूह ए को दोस्रो स्थानमा पुगेको छ ।

नेपालको दोस्रो खेल २० जुन अर्थात् असार ५ मा अमेरिकासँग खेल्ने छ । नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात् असार ७ मा छ । नेपालले समूह चरणको अन्तिम खेल नेदरल्यान्डसँग २४ जुन अर्थात् असार ९ मा खेल्नेछ ।

प्रकाशित मिति २०८० असार ३ गते आइतबार ०८:४५
हजुरको प्रतिक्रिया