सिचुवान एयरले १ सय ३० यात्रु लिएर पोखरा आउने
पोखरा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान हुँदैछ । गत पुस १७ गते तामझामका साथ उद्घाटन भएको विमानस्थलमा चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान हुने भएको हो । चीनको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको विमानस्थलमा सिचुवान एयरलायन्सको एयरबस विमानले बुधबार चीनकै छेन्दु–विमानस्थलबाट पोखरामा सिधा उडान गर्ने नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
पोखराको फेवातालमा असार ८ र ९ गते आयोजना गरिएको नेपाल–चीन फ्रन्डसिप ड्रागन बोट फेस्टिभलमा सहभागी हुने चिनिया पर्यटक तथा खेलाडीहरुलाई सिचुवान एयरको विमानले पोखरा ल्याउनेछ । यो विमान उत्तरतिरको हवाई रुटबाट संखुवासभा छिरेर काठमाडौंको आकाशहुँदै पोखरा आउने प्राधिकरणले बताएको छ । नेपाली समय अनुसार बुधबार बिहान साढे ८ बजे छेन्दुबाट विमान उड्ने तालिका छ ।
चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १ सय ३० जना यात्रु लिएर उक्त विमान पोखरा विमानस्थलमा अवतरण गर्नेछ । गत जेठ २७ गते काठमाडौंबाट चीन भ्रमणमा गएका अध्यक्ष तिमिल्सेना, ७ सांसदसहित ९ जना पनि पोखरा विमानस्थलमा ओर्लिने तिमिल्सेनाका प्रेस संयोजक दुर्गाप्रसाद शर्माले जानकारी दिए । सिचुवान एयरको विमान पोखराबाट त्रिभुवन विमानस्थलमा अवतरण भई नियमित उडानमार्फत् सोही दिन चीनको छेन्दु फर्किनेछ ।
नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र चिनियाँ दु्तावासको सहकार्यमा नेपाल–चीन फ्रन्डसिप ड्रागन बोट फेस्टिभल आयोजना गरिएको हो । ५० भन्दा बढी मुलुकमा आयोजना हुँद आएको यो कार्यक्रम दक्षिण एशियामै पहिलो पटक हुन लागेको चिनिया दूतावासले जानकारी दिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनको दिन हिमालय एयरलाइन्सको विमानले डेमो उडान गरेको थियो । अहिले पोखरा विमानस्थलबाट आन्तरिक उडान हुँदै आएको छ । बुद्ध, यति, श्री र सौर्य एयरलाइन्सले देशका विभिन्न सहरहरुमा उडान गर्दै आएका छन् ।
पोखरा विमानस्थलबाट एयर रुट र एयर स्पेस दिन भारतले आनाकानी गरिरहेकाले पनि अन्तर्राष्ट्रिय उडानमा समस्या भएको छ । नेपालको पूर्व, पश्चिम र दक्षिणतिर सिमा जोडिएको भारतले एयर रुट नदिँदासम्म पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको सम्भावना कम देखिएको छ ।
प्रकाशित मिति २०८० असार ४ गते सोमबार ०७:४७




