पोखरा
पोखराको फेवातालमा शुक्रबारदेखि नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल भव्यताका साथ सुरु भएको छ ।
फेस्टिभलको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्धघाटन गर्दै फेस्टिभलले नेपाल र चीनको सम्बन्ध प्रगाढ बनाएर लैजाने बताए । मन्त्री किराती, नेपालका लागि चिनियाँ राजदुत छन् सोङ, पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी, पोखराका मेयर धनराज आचार्यसँगै चिनबाट आएका मेयर उपमेयर सहितको ४ जना टोली गरि ८ वटा बोटको ८ जनाले संयुक्त रुपमा उद्धघाटन गरेका थिए ।
प्रतियोगितामा सिचुवान ड्रागनबोट, युवान बोट, एसजी ड्रागन बोट (सिङ्गापुर), चाइना–नेपाल फ्रेन्डसीप ड्रागन बोट (पोखरा), नारा ड्रागन बोट (नेपाल), एनआरिसए बोट (नेपाल), फेवा ड्रागन बोट (नेपाल) र पोखरा महानगर ड्रागन बोट टोलीले प्रतिस्पर्धा गरिरहेका ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
डुंगा दौड अन्तरगत ५ सय र दुई सय मिटरको दुरीमा हुने प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । फेवाताल क्याम्पिङचोकमा सुरु प्रतियोगिता भोलिसम्म चल्नेछ । प्रतियोगितामा पहिलो हुनेले ५ लाख ५० हजार, दोस्रो हुनेले ३ लाख ५० हजार र तेस्रो स्थान ल्याउनेले २ लाख रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताका लागि चीनबाटै केरुङ नाका हुँदै आठवटा विशेष खालका बोट तथा अन्य आवश्यक सामग्री ल्याइएको थियो । प्रतियोगितापछि सो बोट पोखरा महानगरलाई नै हस्तानन्तरण गरिनेछ ।
दुई दिने फेस्टिभलमा नेपाली, चिनियाँ खाना, चिनियाँ सांस्कृतिक कार्यक्रम फेस्टिभलको आकर्षण रहेको छ । अहिले नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागीका लागि ६० जना खेलाडी सहितको झण्डै २ सय चीनियाँ टोली प्लेन चार्टड गरेर बुधबार पोखरा आएका थिए । पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा सुरु फेस्टिभलमा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसन सह–आयोजक हुन् ।






