मौरीपालनको हब बनाउने, सय रोपनीमा सिप्लिकान लगाउने
पोखरा
कास्कीको रुपा गाउँपालिकाले कृषिलाई प्रमुख केन्द्रमा राखेर ४३ करोड २९ लाख ७७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । रुपा गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट आज एकै दिन सार्वजनिक गरेको हो ।
गाउँपालिका अध्यक्ष नवराज ओझाले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उपाध्यक्ष लालसुब्बा गुरुङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी थिइन् । अध्यक्ष ओझाले अहिलेको आर्थिक संकटलाई मध्यनजर गर्दै अनावश्यक क्षेत्रको खर्च कटौती गर्दै उत्पादक क्षेत्रमा लगानी केन्द्रित गर्ने नीति अवलम्बन गर्ने बताए ।
गाउँपालिकाको साथः किसानको हात भन्ने नाराका साथ एक घर एक घार कार्यक्रम बृहत्तर रुपमा सञ्चालन गरिने अध्यक्ष ओझाले बताए । रुपाले मौरीपालनको हब बनाउने र उत्पादित महको ब्रान्डिङ गरी न्युनतम ८ हजार लिटर मह उत्पादन गर्ने लक्ष्य राखेको छ । रुपालाई महको हब बनाउने यो कार्यक्रमका लागि पालिकाले १ करोड २० लाख रुपैयाँ बिनियोजन गरेको उपाध्यक्ष गुरुङले बजेटमार्फत प्रस्तुत गरिन् ।
मौरीपालनको हब बनाउने यो कार्यक्रमका लागि मात्र पालिकाको सिंगो बजेटको १२ दशमलत ७० प्रतिशत बिनियोजन भएको हो । रुपा गाउँपालिका अहिले पनि मह उत्पादनका हिसाबले सम्भावनाको क्षेत्र मानिन्छ । पालिकाले बाँदर नियन्त्रणका लागि ‘बाँदर पार्क’ निर्माण गर्ने र कम्तिमा पनि १ सय रोपनी क्षेत्रफलमा सिप्लिकान लगाउने भएको छ । बाँदरले नखाने र बढी फलदायी हुने भएकाले पनि स्थानीय उत्पादनलाई जोड दिन पालिकाले सय रोपनी जग्गामा सिप्लिकानका विरुया रोप्ने कार्यक्रम ल्याएको हो । सिप्लिकानको मोडल फर्मको विकास गर्न व्यावसायिक खेति गर्ने र बजारीकरणको व्यवस्था पनि पालिकाले नै गर्ने अध्यक्ष ओझाले बताए ।
रुपाले निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक एंव प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रुपान्तरण गर्ने नीति लिएको छ । व्यावसायिक कृषि तथा पशु सेवा विकासका लागि २ करोड १० लाख रुपैयाँ बिनियोजन भएको छ । पलिकाले आगामी वर्ष प्रशासकीय भवन बनाउन १ करोड विनियोजन गरेको छ । रुपा गाउँपालिकाले जम्मा ९ अर्ब ४४ करोड ७३ लाख पुँजीगत बजेट सार्वजनिक गरेको छ । चालुतर्फ भने ३३ करोड ८५ लाख रुपैयाँ छ ।
प्रकाशित मिति २०८० असार ९ गते शनिबार १२:११




