पोखरा । सामाजिक सञ्जालमा सत्ता गठबन्धनका कार्यकर्ताले जे राखेका थिए, वार्षिक विकास कार्यक्रममा त्यहीअनुसार बजेट आएको भन्दै प्रतिपक्षी नेकपा (एमाले) र राप्रपाले गण्डकी प्रदेश सभा बैठकमा अवरोध गरेका छन् ।
दुई प्रतिपक्षी दलले मंगलबारको बैठकमा मन्त्रालयगत छलफल सुरु हुनुअघि नै आफ्ना विषय राखेर बैठक अवरोध गरेका हुन् ।
एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले आफूहरुले वार्षिक विकास कार्यक्रम पुस्तिका असार ८ गते पाएको तर असार ६ गते नै सत्ता गठबन्धनका कार्यकर्ताले योजना र बजेट अंक सामाजिक सञ्जालमा पोष्ट गरेको बताए । कार्यकर्ताले पोष्ट गरेअनुसार योजनाको नाम र बजेट वार्षिक विकास कार्यक्रम पुस्तिकामा रहेको प्रमुख सचेतक नेपालीले संसदमा सुनाए । त्यसरी पोष्ट गरिएका भनिएका योजना कास्कीअन्तर्गत एमाले दल नेता खगराज अधिकारीको क्षेत्रका छन् ।
अनुदानका बजेटमा पालिकाले पठाएका योजनामा प्रदेश सरकारले हेरफेर गरेकोमा पनि एमालेले प्रश्न उठाएको छ । ‘पालिकाको प्राथमिकता छोडेर आफ्नो मनमौजीमा समपूरक र विशेष अनुदानका योजना प्रदेश सरकारले छनोट गरेको छ । यसको जवाफ चाहिन्छ,’ प्रमुख सचेतक नेपालीले भने ।
मन्त्रालयगत रुपमा छुट्टाछुट्टै वार्षिक विकास पुस्तिका दिइनुपर्ने पनि एमालेले माग गरेको छ । अर्थमन्त्रीले आफूहरुको प्रश्नको जवाफ नदिएसम्म संसद चल्न नदिने प्रमुख सचेतक नेपालीले बताए ।
यसअघि असार ७ गतेको बैठकमा पनि एमाले र राप्रपाले आफूहरुले वार्षिक विकास कार्यक्रम पुस्तिका नपाउँदै बजेट अंकसहित सामाजिक सञ्जालमा सार्वजनिक भएको भन्दै संसद अवरुद्ध गरेको थियो । अर्थमन्त्री जीतप्रकाश आलेले कमजोरी भएको भए छानबिन गर्ने बताएका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भएका र आफूहरुले पाएको पुस्तिकामा बजेट अंक दुरुस्तै रहेको भन्दै आजको बैठकमा एमाले र राप्रपाले अवरोध गरेका हुन् ।
सभामुखले बैठक सञ्चालनको वातावरण बनाउन पटकपटक आग्रह गरेका थिए । तर, दुई दलका सांसद बस्न नमानेपछि सभामुख कृष्णप्रसाद धितालले बैठक आधा घण्टालाई स्थगित गरेका छन् ।
प्रकाशित मिति २०८० असार १२ गते मंगलबार १२:०६




